काठमाडौं, २४ माघ । प्रधानमन्त्री एवं बिमस्टेकका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बिमस्टेकका महासचिव सुमित नाकान्दालाबीच भेटबार्ता भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र नाकान्दालाबीच सन् २०१७ मा नेपालमा हुने बिमस्टेक सम्मेलनको तयारीका विषयमा कुराकानी भएको थियो ।
भेटमा महासचिव नाकान्दालाले बिमस्टेकको महासचिवका नाताले सन् २०१७ मा नेपालमा हुने चौथों सम्मेलनका तयारीमा आफू पनि गम्भीरतापूर्वक लागेको बताए । भेटका अवसरमा नाकान्दालाले नेपालका प्रधानमन्त्रीले उठाएका एजेण्डाहरु बिमस्टेक र सदस्य राष्ट्रहरुको हितमा रहेको बताउँदै एजेण्डाहरु अगाडि बढाउने दृढता व्यक्त गरे ।
सो अवसरमा नाकान्दालाले लुम्बिनीको विकासका लागि व्यक्तिगत र संस्थागत रुपमा आफूले पहल गर्ने जानकारी दिए । सो अवसरमा उहाँहरुबीच सम्मेलनको तयारी लगायतका विषयमा बिमस्टेकका उच्च अधिकारीहरुबीच भइरहेका बैठकहरुका बारेमा समेत कुराकानी भएको थियो ।