
प्रहरी उच्च स्रोतका अनुसार उनको अपहरणमा संलग्न एकजनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ भने दुईजना फरार भएका छन् । स्रोतका अनुसार यो अपहरण बिहारको निकै कुख्यात मानिएको बब्बु दुबे समुहबाट गराइएको थियो । बब्बु मोतिहरीकै एक कारागारमा कैद सजाय भुक्तान गरीरहेका छन् । सीमावर्ती विहारमा लालुप्रसाद यादवको राष्ट्रिय जनता दल सत्तामा फर्किए लगत्तै हत्या, अपहरण र फिरौती सुरु भएका छन् । इन्जीनियर, ठेकेदार, व्यापारी अपराधीको निसानामा परेका छन् । स्रोतका अनुसार विहारमा सजिलै अपराध बढ्न थालेपछि उताका अपराधीले आर्थिक नगरीका उद्योगी व्यवसायीलाई टार्गेट गरेका हुन् । खुल्ला सिमाना र सुरक्षाकर्मीको लापरवाहीको फाइदा उठाएर त्रास कायम गराउन सफल देखिएका छन् । ’डर, त्रास र भय मुक्त वातावरणमा जीवनयापन गरिरहेका थियौँ,’ वीरगन्ज उद्योग वाणिज्य संघका एक पदाधिकारीले भने, ’गोली प्रहार र अपहरणले पुन आंतकित पारेको छ ।’
पछिल्लो केही वर्षयता सुरक्षित अनुभव गरेका उद्योगी व्यापारीले नीजि सुरक्षा गार्ड (पिएसओ) समेत फिर्ता गरेका थिए । ’विहान र साँझ घरबाहिर हिँडडुल गर्न थालेका थियौं,’ नाम उल्लेख नगर्ने शर्तमा एक उद्योगीले भने, ’मोबाइलमा सेभ नभएका नम्बर पनि निर्धक्क उठाउथ्यौं ।’ बिहीबार साँझको अपहरण र गोली काण्डले जनजीवन पुन आतंकित बनाएको उनले बताए । भारतीय समकक्षीसँग समन्वय गरी केडियाको अवस्था बुझ्ने काम भइरहेको प्रहरीले जनाएको थियो । बब्बु दुबे २०७० जेठ १५ गते काठमाडौंको सीतापाइलामा पक्राउ परेका थिए । तत्कालिन नारायणी अञ्चल प्रहरी प्रमुख सर्वेन्द्र खनालको नेतृत्वमा दुबे पक्राउ परेका हुन् । त्यो बेला उनीमाथि भारतमा ३० भन्दा बढी हत्याको आरोप थियो ।