काठमाडौ २० माघ । सर्वोच्च अदालतले द्वन्द्वकालीन घटनाका अपराधमा छानबिनका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोगले बनाएको मापदण्ड बुधबार खारेज गरिदिएको छ । मापदण्ड खारेज गर्ने सर्वोच्चको निर्णयसँगै आयोगले द्वन्द्वकालका सबै प्रकृतिका घटनाका उजुरीमा छानबिन गर्न आयोग बाध्य भएको छ ।
आयोगले द्वन्द्वकालीन उजुरी तामेलीमा राख्नेसम्बन्धी मापदण्ड, २०७३ जारी गरेको थियो । उक्त माप दण्ड लागू भए आयोग स्वेच्छाचारी भई द्वन्द्वका नाममा भएका गम्भीर अपराधबाट उन्मुक्तिका लागि बाटो खुल्ने खतरा पैदा हुने दाबीसहित द्वन्द्वपीडितद्वारा सर्वोच्चमा रिट दायर भएको थियो । गत साउन ४ गते आयोबाट ऐनअनुसारको मापदण्ड तय भएको थियो ।
मापदण्डलाई लिएर आयोग सदस्य डा. माधवी भट्टले विरोध जनाउँदै आएकी थिइन् । अध्यक्षसहित चारजना पदाधिकारीको बहुमतका आधारमा यो मापदण्ड जारी भएको थियो । सर्वोच्चले मापदण्ड खारेज गरे पनि पूर्ण फैसला आउन बाँकी छ । पूर्ण फैसलापछि आयोगलाई खुला रूपमा छानबिन अघि बढाउन मार्ग प्रशस्त हुनेछ ।
मापदण्ड खारेज गर्न माग राखेर कांग्रेस नेता एवं पूर्व सभासद् विनयध्वज चन्द, काभ्रेकी देवी सुनुवार, बब्लु तामाङ, विष्णुप्रसाद खरेल, काठमाडौं चोभारका देवबहादुर महर्जन, रसुवाका झकबहादुर भुषाल, ओखलढुंगाकी जमुना रोका, रामेछापका शिवकुमार बुढाथोकी, कल्याण बुढाथोकी, शंकरबहादुर बुढा, डिकबहादुर तामाङ, ज्ञानेन्द्रराज आरण, रुकुमका मोहन ओली, धनुषाका चिरञ्जीवीवास गिरी र भोजपुरकी कमला राई तिमल्सेना सर्वोच्च पुगेका थिए ।अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
रिट दायर गर्नेमा द्वन्द्वकालमा राज्य पक्ष तथा विद्रोही पक्ष दुबैबाट पीडित छन् । निवेदकमध्ये पाँचजना राज्यबाट पीडित, नौजना माओवादी पीडित र एकजना राज्य र माओवादी दुबैबाट पीडित हुन् । आयोगमा पीडितका तर्फबाट ५३ हजार सात सय ८६ उजुरी परेका छन् ।
ऐनअनुसार बनाइएको मापदण्ड लागू भएमा यसैका नाममा उच्च पदमा रहेका व्यक्ति, द्वन्द्वकालमा विद्रोही पक्षबाट भएका चन्दा असुली, शिक्षण पेशाबाट वञ्चित गरिएका, भगौडा भनिएका सेना, प्रहरीको कब्जा गरिएको सम्पत्ति, सेना र विद्रोही पक्षको आन्तरिक कारबाही, बालसैन्यका रूपमा भर्ती गरिएका, हिट लिष्टमा राखेर मानव ढालको रूपमा प्रयोग गरिएका जस्ता उजुरी बेकम्मा हुने दाबी पीडितको थियो । शक्ति केन्द्रको दबाबमा मापदण्डलाई टेकेर आयोग छानबिनबाट पन्छिन सक्ने आशंकासमेत हुँदै आएको थियो ।