Indrenionline.com

आफ्नै श्रीमानले जलाएकी सुनिताको शिक्षण अस्पतालमा मृत्यु

काठमाडौँ १९ माघ दिनदिनै घरमा बिबाद बढ्दै गएपछि श्रीमानले शरीरमा आगो लगाइदिदा गम्भीर घाइते भई त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी नेपालगञ्ज १२ की २२ वर्षीया सुनिता खटिकको निधन भएको छ । आज राति १।३५ बजे उनको आइसियुमै निधन भएको अस्पतालले जनाएको छ ।

यही माघ ६ गते सानोतिनो विवादमा श्रीमान्ले मृत्युको मुखमा पु¥याई भागेपछि उनलाई उपचारका लागि ८ गते काठमाडौँ ल्याइएको थियो । घरमा सामान्य झगडा भएपछि श्रीमान् राजेन्द्रले सुनितालाई मट्टितेलको टुकीले मुखमै हानेका थिए । आगोले उनको छाती माथिको भाग र एउटा हात नराम्ररी जलेको थियो ।

वर्न वार्डकी नर्सिङ इन्चार्ज अर्चना रञ्जितले सुनिता इनालेसन इन्जुरी ( आगोको राप धेरै निलेर फोक्सो जलेका) कारण मृत्यु भएको जानकारी दिए । ‘अग्नि हिंसापीडित’ संस्थाको सहयोगमा काठमाडौँमा उपचारका लागि ल्याइएकी सुनिताको सम्पूर्ण उपचार खर्च सरकारले जिम्मा लिएको थियो ।

महिला बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले सुनिताको उपचारमा कुनै कसुर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिनुका साथै अभियुक्तलाई उम्कन नदिने बताएका थिए । तर प्रहरीले अहिलेसम्म अभियुक्तलाई समाउन सकेको छैन ।

छोराले बुहारी जलाउने प्रयास गरेलगत्तै फरार भए पनि सुनिताकी सासूले उनलाई उपचार गर्न काठमाडौँ ल्याएकी थिइन् । अढाई वर्षअघि भारतको गोरखपुरस्थित दोहरियाकी सुनिता विवाह गरी नेपाल आएकी थिइन् । उनकी डेढ वर्षकी छोरी छिन् ।

नर्सिङ इन्चार्ज रञ्जितले भनिनु्, ‘फोक्सोबाट मुटुमा जाने रगत सञ्चालनका लागि इक्मो मेसिन लगाइएको थियो, जसले अक्सिजन सन्तुलन गर्ने हो । सन्तुलन पनि भएको थियो । तर फोक्सोमा धेरै असर भइसकेकाले उहाँलाई बचाउन सकिएन ।’ स्वास्थ्य खबरबाट