काठमाडौँ, । नेपाली चाड दसैँ र तिहारसम्बन्धी बिहीबार राजधानीमा प्राज्ञिक बहस गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, समाजशास्त्र विभाग र मगर अध्ययन केन्द्र, ललितपुरद्वारा संयुक्त रुपमा आयोजित ‘नेपाली चाड दसैँ र तिहार ः समाजशास्त्रीय दृष्टिकोण’ विषयक बहस कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानले विभिन्न संघसंस्थासँग सामाजिक सरोकारका विषयमा सहकार्य गरी प्राज्ञिक गोष्ठीहरूको आयोजना गर्ने गरेको उल्लेख गर्नुहुँदै भन्नुभयो, ‘नेपाली चाडहरु दसैँ तथा तिहारका बारेमा आज समाजशास्त्रीय दृष्टिकोणबाट गरिएको बहस साँच्चिकै उपलब्धिमूलक भएको छ ।’ उहाँले गोष्ठीमा प्रस्तुत विचारहरूले बहुलतालाई जोड्नका निमित्त महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कवि तथा लोकसंस्कृतिविद् तुलसी दिवसले चाहिँ चाडपर्वहरूलाई ऐतिहासिकता र परम्परासँग मात्रै जोडेर व्याख्या गर्नु नहुने बताउनुभयो । उहाँले समय–सन्दर्भसँग जोडेर चाडपर्वहरूलाई व्याख्या गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा डा. मोदनाथ प्रश्रितले दसैँसम्बन्धी र डा. मीन श्रीसमगरले तिहारका सामाजिक तथा सांस्कृतिक पक्षहरूका बारेमा विचारपत्र प्रस्तुत गर्नुभएको थियो । गोष्ठीमा प्रश्रितले आदिम कालदेखि नै दसैँको परम्परा चलिआएको उल्लेख गर्नुहुँदै दसैँ सामाजिक र सांस्कृतिक कोणबाट एक महत्वपूर्ण चाड भएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘दसैँलाई सामाजिक अन्तरघुलनको पर्वका रुपमा स्वीकार्दै हामीले यसको सांस्कृतिक विशेषता र मर्यादालाई पालना गर्न सक्छु पर्छ ।’
कार्यक्रममा मगर अध्ययन केन्द्रका अध्यक्ष डा. गोविन्द थापा, महासचिव हर्क थापाका साथै प्रा. कृष्ण पोखरेल, विष्णु प्रभात, त्रिलोकसिं थापामगर, तुलसीराम वैद्य, माया ठकुरी, शम्भुकुमार मिलन, डा. मोहन पौडेल, प्रकाश ए राज, डम्बर घिमिरेलगायतले दसैँ तथा तिहारसम्बन्धी आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।