माघ ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशविना पहाड र पहाडविना मधेशको कल्पना पनि गर्न नसकिने वताउनुभएको छ । उहाँले परिवर्तन विरोधीहरु अहिले मधेश, पहाड र हिमाल तथा विभिन्न जात, जाति र धार्मिक समुदायलाई फुटाउन लागिपरेको बताउँदै आफूले सिंगो नेपाल र नेपालमा रहेका नेपाली जनतालाई एकतावद्ध बनाउन पहल गरिरहेको स्पष्ट पार्नुभएको छ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मुस्लिमलगायत उत्पीडित जाति र बर्गका मुद्धावाट माओवादी पार्टी र आफू विचलित नहुने बताउँदै यसका लागि अन्तिमसम्म संघर्ष गर्ने जनाउनु भयो । उहाँले संविधानमा उत्पीडितहरुका पक्षमा भएका राम्रा कुराको रक्षा तथा कार्यान्वयन र अपुग कुराहरु पूरा गर्न एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिँदै माओवादी पार्टी र आन्दोलन कमजोर हुँदा उत्पीडितका मुद्धा कमजोर हुनेतर्फ स्पष्ट पार्नुभयो ।
परिवर्तनका एजेण्डा बाध्यताले स्विकार्नेहरु अहिले संघीयता, समावेशिता, धर्मनिरपेक्षता लगायतका एजेण्डा उल्ट्याउन लागिपरेको बताउँदै प्रधानमन्त्रीले परिवर्तनकामी र यथास्थितिवादीबीच पेचिलो संघर्षको अवस्था आउन सक्नेतर्फ ध्यानाकर्षित गराउँदै परिवर्तनकारीहरुलाई समयमै गोलबन्द हुन आग्रह गर्नुभयो ।