काठमाडौं, ८ माघ । सरकारले औसत आयु कम भनिएका दुर्गम जिल्लाका ६० वर्ष उमेर नपुगेका किसानलाई पनि पेन्सन उपलब्ध गराउने भएको छ । क्षेत्रका हिसाबले नेपालीको औसत आयु फरकफरक भनिएको छ ।
नेपालीको सरदर औसत आयु ७१ वर्ष भनिए पनि मुलुकको भौगोलिक अवस्था हेरी दुर्गमका केही पहाडी जिल्लाहरूमा तराईका नागरिकको तुलनामा औसत आयु कम रहेको छ । त्यसैको आधारमा अध्ययन गरी कृषि विकास मन्त्रालयले किसानलाई पेन्सन उपलब्ध गराउने तयारी थालेको कृषि विकास मन्त्रालयका सूचना अधिकारी टीकाराम शर्माले जानकारी दिए ।
६० वर्ष उमेर नपुगकेका किसानलाई पेन्सन उपलब्ध गराउने तयारी थाले पनि कति वर्ष उमेर नाघेको र कति वर्ष कृषि गरेको हुनुपर्ने भन्ने चाहिँ अझै नतोकिएको शर्माले बताए । अध्ययनको विस्तृत प्रतिवेदन नआएकाले उमेर र कृषि गरेको अवधि अहिले नै भन्न नमिल्ने शर्माको भनाइ छ ।
त्यसैगरी सरकारले दुर्गम जिल्लाका वर्षभरि कृषि गरेर खान नपुग्ने किसानलाई समेत पेन्सन उपलब्ध गराउने तयारी थालेको छ । कृषि विकास मन्त्रालयले ६० वर्ष उमेर नाघेका र २० वर्ष कृषि गरेका किसानलाई यही आर्थिक वर्षदेखि पेन्सनको व्यवस्था गर्न लागेको हो । राजधानीमा खबर छ ।त्यसका लागि अध्ययनको जिम्मा पाएको वैकल्पिक अध्ययन समाजले कृषि विकास मन्त्रालयमा अध्ययन प्रतिवेदन बुझाइसकेको छ । सो बुझाएको प्रतिवेदनलाई मन्त्रालयका सहसचिव काशीराज दाहालको संयोजकत्वमा अध्ययन टोली गठन गरी थप अध्ययन गरिँदै छ ।
वैकल्पिक समाजले गरेको अध्ययनमा किसानलाई पाँच वर्गमा वर्गीकरण गरिएको छ । जसमा सबै किसानले आम्दानीको एक प्रतिशत किसान पेन्सन कोषमा जम्मा गर्नुपर्ने छ । साना किसानले थोरै रकम र ठूला किसानले अलि बढी रकम कोषमा जम्मा गर्नुपर्ने छ । त्यसपछि तोकिएको उमेर नाघेको व्यक्तिले २५ सय मासिकका दरले पेन्सन पाउने भनिएको छ ।