माघ ७ – आजैका दिन ४५ औँ अमेरिकी राष्ट्रपतिका रुपमा डोनाल्ड जे. ट्रम्पले शपथग्रहण गर्दैछन्। ब्रेकफास्ट तथा चर्चमा उपस्थिति जनाइसकेपछि ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले ह्वाइट हाउसमा ओबामा दम्पतीसँग भेट गर्नेछन्। त्यपछि परम्पराअनुसार ट्रम्प र ओबामा सँगै पेन्सलभानिया एभेन्युस्थित क्यापिटल हिल जानेछन्।
शपथग्रहणपश्चात ट्रम्पले उद्घाटन भाषण गर्नेछन्। उनको भाषण २० मिनेट लामो हुने अपेक्षा गरिएको छ। हालसम्म सबैभन्दा छोटो उद्घाटन भाषण सन् १७९३ मा जर्ज वाशिंगटनले आफ्नो दोस्रो कार्यकालको सुरुवातमा दिएको मानिन्छ। उनको भाषण मात्र १३० शब्दको थियो।
ट्रम्पले गत बुधबार ट्वीटरमार्फत एक फोटो सार्वजनिक गर्दै अघिल्लो महिना उद्घाटन भाषण आफैँले लेखेको जानकारी दिएका थिए।
ट्रम्पको शपथग्रहण समारोहमा उनको परिवार, कार्यकाल समाप्त गरेका ४४ औँ अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनको परिवारसहित जीवित पूर्वराष्ट्रपतिहरुले उपस्थिति जनाउनेछन्। समारोहमा जिम्मी कार्टर, जर्ज बुस, विल क्लिन्टन र ट्रम्पकी प्रतिद्वन्द्वी हिलारी क्लिन्टनको उपस्थिति रहने अपेक्षा गरिएको छ।