रोल्पा, ७ माघ । रोल्पामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ । यसबारेको जानकारी आईडीई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रमका कार्यक्रम अधिकृत विजय श्रेष्ठले जानकारी दिए ।
यसरी जिल्लामा उत्पादित तथा प्रसोधित सुगन्धित तेल तथा अन्य जडिबुटी नेपालगन्ज र काठमाडौँका ब्यापारीले खरिद गर्दै आएकोमा पछिल्ला दिनमा सिधै भारत, युरोप र अमेरिका निर्यात हुन थालेको श्रेष्ठको भनाइ छ ।
मिझिङ गाविसका किसानहरुले विभिन्न सामुदायिक वनहरु तथा बाँझो जमिनबाट तीतेपाती सङ्कलन गरी सुनाछहरी जडिबुटी प्रसोधन केन्द्रमा प्रसोधन गरी सुगन्धित तेल उत्पादन तथा बजारीकरण गर्दै आएका छन् ।
हाल टिमुरबाट पनि सुगन्धित तेल निकाल्नका लागि तयारी भइरहेको छ । श्रेष्ठका अनुसार जडिबुटी खेती तथा प्रसोधनबाट हालसम्म मिझिङ गाविसका १०७ घरधुरी लाभान्वित भएका छन् ।
यसरी जडिबुटी उत्पादन तथा प्रसोधनका लागि सामुदायिक वनमा आबद्ध भएका ब्यक्तिहरु, थोरै भएपनि खेतीयोग्य जमिन भएका परिवारहरु, सामुदायिक वनका ‘ग’ वर्गका उपभोक्ताहरु तथा सिँचाइको सुविधायुक्त जमिन हुने घरधुरीलाई प्राथमिकतामा राखिएको छ ।
मिझिङ–७, छिर्नेमा करिब पाँचलाख मूल्य बराबरको मेसिन राखिएको भएपनि व्यवस्थित हुन नसकेपछि हाल मेसिन सुलिचौर–१ रुइनिबाङमा पुनःस्थापना गरिएको छ । डिस्टिलेसन युनिटबाट जडिबुटी प्रसोधन गरी सुगन्धित तेल निकालिन्छ ।
हाल समूदायको मातहतमा रहेको जडिबुटी प्रसोधन केन्द्रलाई निकट भविष्यमा स्थानीय जडिबुटी व्यापारीद्वारा व्यवस्थापन गर्ने बताइएको छ ।
यसरी व्यवस्थापन भइसकेपछि ती व्यापारीले समुदायबाट कच्चा जडिबुटीहरु, तीतेपाती र सिट्रोनेला खरिद गरी प्रसोधन गर्नेछन् । यसरी अगाडि बढ्दा जडिबुटीका कृषकहरुलाई बजारीकरणमा सहजता हुनुका साथै जडिबुटीको उचित व्यवस्थापन हुने परियोजनाले जनाएको छ ।
औषधिको रुपमा, सृङ्गारका सामग्री निर्माण गर्न तथा सरसफाइका सामग्रीहरु बनाउनका लागि यी तेलहरु प्रयोग गर्ने गरिन्छ । RSS