काठमाडौं, ६ माघ । सैनिक जवान युवराज घिमिरेको हत्या सडक बालकहरुले लागूऔषध खाने पैसाका लागि गरेको खुलासा भएको छ । हत्यामा संलग्न तीन सडक बालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको बाफलस्थित पुलमा गत बिहीबार सैनिक जवान घिमिरेको हत्या गरिएको थियो । राजधानीमा खवर छ । शुक्रबार बिहानै सडकमा ढलिरहेको अवस्थामा उनलाई मृत फेला पारिएको थियो । उनलाई टाउकोमा प्रहार गरेको देखिएको थियो ।
घिमिरेको हत्यापछि अनुसन्धानमा जुटेको स्वयम्भु र कालिमाटी वृत्तको टोलीले सडक बालकहरुले लागूऔषध खाने पैसाको लागि घिमिरेको हत्या गरेको तथ्य फेला पारेको हो ।
स्वयम्भु प्रहरी वृत्तका प्रमुख डीएसपी कोमल शाहका अनुसार, पक्राउ परेका सडक बालकहरु जो आए पनि लुट्ने मनस्थितिसहित तयारी हालतमा बसेका थिए । ‘उनीहरु जो आउँछ, उसैलाई लुट्ने योजना बनाएर बसेका रहेछन् । सैनिक जवान घिमिरे त्यही बाटो घर जाँदै गर्दा मारिएको देखिन्छ,’ डीएसपी शाहले भने ।
डीएसपी शाहका अनुसार, सुरुमा रोकेर लुट्न खोजेपछि घिमिरेले प्रतिवाद गरेका थिए । तर तीन जनाले समातेर टाउकोमा ढुंगाले प्रहार गरेका थिए । घिमिरे ढलेपछि उनको साथमा भएको ल्यापटप, मोबाइल र पर्स लिएर उनीहरु फरार भएका थिए ।