काठमाडौं- नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति मोहमद बिन रसिद अल मक्तोमबीच भेटबार्ता भएको छ । मंगलबार दिउँसो दुवईमा भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र उपराष्ट्रपति मक्तोमबीच दुइपक्षीय हित र आपसी सम्बन्धबारे कुराकानी भएको थियो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल प्राकृतिक दृष्टिले उच्च चुचुरो सगरमाथाको देश भएको र युएई मानव निर्मित ठूला टावरहरुको देश भएकोले नेपाल दुई उच्च टावरलाई जोडेर आपसी हित र मित्रतालाई थप बलियो बनाउन चाहेको बताए ।
प्रधानमन्त्रीले भने, ‘नेपालमा सगरमाथा जस्ता प्राकृतिक दृष्टिले उच्च टावरहरु छन्, तपाईहरुले विश्वमै सबैभन्दा उच्च मानव निर्मित् टावर बनाएर देखाउनु भएको छ । यो विश्वकै लागि उदाहरणीय छ । दुई ठूला टावरको बीचमा राम्रो कनेक्सन भयो भने दुई देशकै लागि महत्वपूर्ण उपलब्धि हुन सक्छ, यसमा नेपाल युएईसँग सहकार्य गर्न चाहन्छ ।’
भेटमा प्रधानमन्त्रीले जलविद्युतका क्षेत्रमा लगानी गर्न उपराष्ट्रपति मक्तोमको ध्यानाकर्षण गराएका थिए । सो अवसरमा प्रधानमन्त्रीले युएईमा कार्यरत नेपाली कामदारहरुले भोगेका समस्या र युएई सरकारसँग गरेका अपेक्षाबारे उपराष्ट्रपतिको ध्यानाकर्षण गराए ।
भेटका क्रममा युएईका उपराष्ट्रपति मक्तोमले नेपालीहरु विश्वमै सबैभन्दा सोझा र इमान्दार भएको भन्दै नेपालको विकासमा लगानी गर्न र नेपाली कामदारहरुका समस्या समाधान गर्न युएई सरकारले थप पहल र सुधार गर्ने बताए।