कुवेत, ३ माघ । ओमानबाट जर्मनी जान उडेको युरोविङ्ग्सको एक विमानमा बम राखेको भन्ने हल्ला चलेपछि बीचबाटोबाटै उक्त विमान कुवेत सिटीमा आकस्मिक अवतरण गरेको छ ।
सो विमानमा चालकदलका १३ जनासहित २९९ जना यात्रु सवार थिए । बम राखेको भन्ने हल्ला चलिरहेको अवस्थामा उडाइ रहन नमानेपछि विमानका कप्तानले कुवेतमा अवतरण गर्न यहाँको टावरसँग अनुमति मागेका थिए ।
आकस्मिक अवतरण पश्चात् सबै यात्रु ओरली विमानलाई पूरै जाँच, अनुसन्धान गर्दा बम वा कुनै त्यस्तो बिस्फोटक पदार्थ फेला नपरेको पनि कुना न्युज एजेन्सीले जनाएको छ ।
आफ्नो स्वामित्वमा रहेको सो विमानलाई जर्मनीकै सन् एस्प्रेस नामक कम्पनीले लिजमा लिई सञ्चालन गरेको र यस उडानलाई भने एफ।टी।आई। नामक एउटा ट्राभल एजेन्सीले चार्टर गरेको तथ्य युरोविङ्ग्स एयरलाइन्सले जनाएको छ । युरोविङ्ग्स एयरलाइन्स जर्मनीको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय ध्वजाबाहक लुफ्थान्सा जर्मन एयर लाइन्सकै भगिनी संस्था हो । रासस/एपी