काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी माघको पहिलो साता शीतलनिवास हाताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छिन् । भूकम्प र बमप्रतिरोधी सुविधासम्पन्न भवन करिब ६२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो । शीतलनिवास परिसरको एक सय आठ रोपनी जग्गामध्ये २० रोपनी जग्गामा नयाँ भवन बनाइएको हो ।
भवन दुई प्याकेजमा निर्माण गरिएको छ । पहिलो प्याकेजमा भवनको संरचना खडा गरिएको हो भने दोस्रोमा आन्तरिक सजावटको काम भएको हो । विभागका अनुसार पहिलो प्याकेजअन्तर्गत २८ करोड २४ लाख रुपैयाँ खर्च भएको छ ।
दोस्रो प्याकेजअन्तर्गत ३३ करोड ७५ लाख रुपैयाँ खर्च भएको छ । भवन बेसमेन्टसहित पाँच तलाको छ । भवन निर्माणमा कुल ६१ करोड ९९ लाख रुपैयाँ खर्च भइसकेको छ । शीतलनिवास भत्काउने तयारी नवनिर्मित भवनमा राष्ट्रपतिलाई सारेपछि अहिले राष्ट्रपति कार्यालय रहेको भवन भने भत्काइने भएको छ ।
१२ वैशाख ०७२ को भूकम्पले सो भवनमा क्षति पुगेकाले भत्काउन लागिएको हो । भवन भत्काउन टेन्डर आह्वान भएर सम्झौतासमेत भइसकेको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका तर्फबाट परियोजन निर्देशक शिवहरि शर्मा, बिल्डिङ डिजाइन अथोरिटीका तर्फबाट कार्यकारी निर्देशक सुदीप पौडेल, प्लस इन्जिनियरर्स एन्ड आर्किटेक्टका तर्फबाट सुदीपकुमार श्रेष्ठ र डिजिकन इन्जिनियर्स कन्सल्टेन्टका रामउदार यादवबीच १९ मंसिरमा टेन्डर सम्झौता भएको हो । ठेकेदार कम्पनीले अबको सात महिनाभित्र भवन भत्काइसक्नेछ ।
इकाइका उपनिर्देशक सुरेश वाग्लेका अनुसार भवन भत्काउन पुरातत्व विभागबाट समेत स्वीकृति लिइसकिएको छ । ‘राष्ट्रपति बस्दै आएको भवन भूकम्पले क्षति पु¥याएको र रेट्रोफिटिङ गरेर पनि प्रयोग गर्न नसकिने अवस्था रहेकाले पूरै भत्काउन लागिएको हो,’ वाग्लेले भने । त्यस ठाउँमा राष्ट्रपति कार्यालय रहने गरी भूकम्प र बमप्रतिरोधी भवन नै निर्माण गरिने भएको छ । तर, डिजाइन बनाइएको छैन ।
शीतलनिवास चन्द्रशमशेर सत्तामा रहेका वेला १० असार १९५८ मा निर्माण गरिएको हो । भवन तत्कालीन इन्जिनियर कुमारनरसिंह राणा र किशोरनरसिंह राणले बनाएका हुन् । सो भवन चन्द्रशमशेरले आफ्नी जेठी महारानी लोकभक्तलक्ष्मीदेवीका कान्छा छोरा कृष्णशमशेरलाई उपहारमा दिएका थिए । पछि कृष्णशमशेरले सो भवन सरकारलाई हस्तान्तरण गरे । राणा सरकारको रोलक्रमबाट बाहिरिएपछि कृष्णशमशेर विरक्तिएर भवन छाडेको र भारततर्फ लागेको बताइन्छ ।
इतिहासकार पुरुषोत्तमशमशेर राणाका अनुसार कृष्णशमशेरले भवन मर्मत गर्न तीन लाख २२ हजार आठ सय रुपैयाँ सरकारलाई दिएका थिए । त्यसपछि नेपालस्थित भारतीय दूतावास, राजकीय गेस्टहाउस, परराष्ट्र मन्त्रालय हुँदै अहिले राष्ट्रपतिनिवास र कार्यालयका लागि प्रयोग गरिएको हो ।
छोरीको बिहेलगत्तै राष्ट्रपति नयाँ भवनमा राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुम र पूर्वराष्ट्रपति डा। रामवरण यादवका नाति अभिषेक यादवबीच सोमबार विवाह हुँदै छ । विवाहमण्डप शीतलनिवासमै बनाइएको छ । विवाह सकिएपछि राष्ट्रपतिलाई नवनिर्मित भवनमा सार्ने तयारी भएको छ । नयाँ पत्रिकाबाट