काठमाडौं, २ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित अन्य ८ विपक्षी दलले संविधान संशोधन असफल पार्ने बताए पनि संशोधन विधेयक पारित हुने सम्भावना बढेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संशोधन विधेयक राष्ट्रघाती भएको आरोप लगाउँदै संशोधन कुनै पनि हालतमा असफल पार्ने बताएपछि प्रधानमन्त्री प्रचण्ड जम्बो सरकार बनाएर भए पनि संशोधन पारित गराएरै छाड्ने योजना पुगेको माओवादी निकट स्रोतले बताएको छ ।
सरकारमा सहभागी दलसँग एकतापछि आफुहरुको ठूलो शक्ति भए पनि थोरै मन्त्री बनाइएको र आफूलाई सरकारमा रहेर पनि बेवास्ता गर्ने गरेको भन्दै राप्रपा अध्यक्ष थापाले असन्तुष्टी जनाउँदै आएका छन् ।
आफ्नो पार्टी सरकारमै रहेर पनि सरकारले पेश गरेको संविधान संशोधन विधेयकको विपक्षमा रहने बताएपछि प्रचण्ड थापालाई मनाउन उपप्रधानमन्त्री दिन सहमत भएका छन् ।
संसदमा प्रतिनिधित्व गर्ने सिट संख्याको अनुपातमा राप्रपालाई उपप्रधानसहित थप तीन मन्त्रालय र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई उपप्रधानसहित दुई मन्त्रालय दिन प्रचण्ड राजी भएका छन् । अन्य साना दललाई पनि एक एक मन्त्रालय दिने तयारी गरिएको छ ।