काठमाडौं, २८ पुस। सरकारले व्यवस्थापिका–संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावमा आदिबासी जनजाति महासङ्घले समर्थन जनाएको छ । बिहीबार नेपाल जादिबासी जनजाति महसङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी संशोधन प्रस्तावमा आफूहरुको समर्थन रहेको जानकारी गराएका हुन् ।
भेटमा जनजाति अगुवाहरुले विगतमा भएका सहमतिको कार्यान्वयन गर्न, स्थानीय तह पूनर्संरचना आयोगबाट विशेष, स्वायत्त र संरक्षित क्षेत्रको निर्धारण गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।
भेटमा प्रधानमन्त्रीले राजनीतिक शक्ति सन्तुलनले भ्याएसम्म जनजातिका मुद्दाहरुको सम्बोधन गर्ने प्रयास गरिएको जानकारी गराउँदै प्रस्ताव पारित गर्न सबैको सहयोगको अपेक्षा गरे। साथै प्रधानमन्त्रीले संघीय आयोगमार्फत् सम्बोधन गर्न बाँकी जनजातिका मुद्दाहरुको अधिकतम् सम्बोधनका लागि प्रयास गरिने जानकारी दिए ।