एजेन्सी, २८ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नाममा रहेको सम्पूर्ण सम्पत्ति र व्यवसायको सञ्चालन उनका दुई छोराहरुले गर्ने बताएका छन्। झण्डै ६ महिनामा गरेको पहिलो पत्रकार सम्मेलनमा उनले यस्तो घोषणा गरेका हुन्।
जनवरी २० देखि कार्यभार सम्हाल्न लागेका ट्रम्पले पत्रकार सम्मेलनको धेरैजसो समय ट्रम्पले हालै सञ्चारमाध्यममा आएको एक अपुष्ट समाचारको आलोचनामा खर्चिएका थिए। विगत पाँच वर्षदेखि ट्रम्पलाई रुसी गुप्तचर सँस्थाहरुले प्रयोग गरिरहेको र रुससँग ट्रम्पलाई ब्ल्याकमेल गर्नका लागि पर्याप्त यौन सामग्री रहेको दाबी गरिएको समाचार बजफिड र सिएनएनले प्रकाशन प्रसारण गरेका थिए।
पत्रकार सम्मेलनअघि नै ट्रम्पले ट्वीटरमार्फत सो समाचारको खण्डन गरिसकेका थिए। पत्रकार सम्मेलनमा उनले यदि पुटिनले आफूलाई मन पराएमा त्यो दायित्व नभई सम्पत्ति भएको बताए। उनले गुप्तचर निकायले यति झुटो समाचार चुहाएकोमा त्यसको चर्काे आलोचना गरेका थिए ।