काठमाडौं, २७ पुस । महिलामा देखिने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशभरका सरकारी अस्पतालले निःशुल्क परीक्षण सेवा दिने भएका छन्।
मन्त्रिपरिषद्को गत असोज २२ गते बसेको बैठकले देशभरका सबै सरकारी अस्पतालबाट प्याप स्मेयर परीक्षण निःशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले गएको शुक्रबार मातहतका सबै क्षेत्रीय कार्यालयलाई पत्राचार गरेको मन्त्रालयका शाखा अधिकृत कृष्णप्रसाद सुवेदीले बताए।
के हो पाठेघर मुख्खको क्यान्सर
भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा सृष्टि प्रजापतिका अनुसार यस सङ्क्रमणलाई प्रि क्यान्सर भनिन्छ। यसको भाइरसले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्छ। समयमै सङ्क्रमण पत्ता लगाउन नसके आठ÷दश वर्षपछि क्यान्सरमा परिणत हुन्छ। ‘सङ्क्रमण भए—नभएको प्याप स्मेयर टेस्ट ९गर्भाशय स्राव परीक्षण गरेर पत्ता लगाउन सकिन्छ’, प्रजापतिले भने।
परिक्षण पाँच मिनेटदेखि १५ मिनेटमा गर्न सकिन्छ। प्याप स्मेयर गर्दा दुई दिन अगाडिदेखि यौन सम्पर्क गर्नु हुँदैन। साथै सो परीक्षण महिनावारी भएका बेला गर्न मिल्दैन। परीक्षणका लागि सकभर एक हप्ताअघि एन्टिबायोटिक औषधि खानु हुँदैन।
परीक्षण ३५ वर्षदेखि ६० वर्षका महिलाले वर्षको कम्तीमा एकपटक अनिवार्य रूपमा गर्नुपर्छ। परीक्षणले भविष्यमा ठूलो धनजनको क्षति हुनबाट बचाउँछ।