रौतहट, २६ पुस । रौतहटमा एक महिलाको हत्या भएको भन्दै माइती पक्षले छानबिनका लागि माग गरेका छन् । फतुवामहेशपुर–१ का सन्तोषकुमार साहकी २१ वर्षीया श्रीमती लालमुनि कुमारीको शनिबार बिहान शंकास्पद मृत्यु भएपछि माइती पक्षले छोरीकोे हत्या भएको आरोप लगाएका हुन्।
भारतको पूर्वी चम्पारण जिल्ला जटौलिया घर भएका किशोरी साहले एक वर्षअघि छोरी लालमुनिको विवाह सन्तोषसँग गरिदिएका थिए। दन्त चिकित्सक सन्तोषसँग बिहे गर्दा केटी पक्षले १० लाख भारु दाइजोमा दिएको मृतकका दाइ जयप्रकाशले बताएका छन् ।
दाँतको उपचार केन्द्र खोल्न सन्तोषले पाँच लाख रुपैयाँ माग्दै आएको माइती पक्षले जनाएको छ। सोही पैसा नदिएको भन्दै छोरीलाई शरीरिक र मानसिक यातना दिँदै आएको मृतकका बुबा किशोरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले मृतक महिलाको शव परीक्षण गरिएको र घटनाबारे थप अनुसन्धान भइरेहको बताए । श्रीमान् सन्तोष फरार छन् ।