भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको समग्र विकासको प्याकेज छिट्टै ल्याउने बताउनु भएको छ । मंगलबार मेघौलीमा रहेको साना शहरी खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो ।
खानेपानीको हक जनताको मौलिक हक भएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘खानेपानीको समस्या नेपालको आधारभूत समस्या हो । यसमा पछिल्लो समयमा सुधार आएको छ । संविधानमा खानेपानीलाई जनताको मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । यसको व्यवहारिक कार्यान्वयन अहिलेको मूख्य दायित्व हो । यस्ता आयोजनाहरुले त्यस्तो व्यवस्थाको कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।’
कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेल, भूमिसुधार तथा व्यवस्था मन्त्री बिक्रम पाण्डे, सांसद रुक्मिनी चौधरी, पूर्व उपप्रधानमन्त्री अमिक शेरचन लगायतको उपस्थिति रहेको थियो ।
मेघौली खानेपानीको उद्घाटनपूर्व प्रधानमन्त्रीले गोलाघाटमा रहेको निर्माणाधीन गोलाघाट पुलको स्थलत निरीक्षण गर्नुभएको थियो । स्थलगत निरीक्षणपछि बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘गोलाघाट पुल सरकारको प्राथमिकतामा छ । निकुञ्जको प्राविधिक कारणले पुल निर्माणमा ढिलाई भएको सूचना पाएको छ । म यहाँबाट फर्केलगत्तै सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरुलाई बोलाएर छिटै पुल निर्माणमा तिब्रता दिनेछु । पुल निर्माण छिटै सम्पन्न हुन्छ ।’