बर्दिया, २६ पुस । बर्दिया राष्ट्रिय निकुञ्जसहित संरक्षित क्षेत्र र सिमसार क्षेत्रमा जलपक्षीको गणना सुरु भएको छ । बर्दियाको कर्णाली नदी, बबई नदी, बढैया ताल र सतखलुवा ताल लगायतका क्षेत्रमा सोमबारदेखि जलपक्षी गणना सुरु भएको बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष एवं चरा विज्ञ रामबहादुर शाहीले जानकारी दिए ।
अनुगमन टोलीले बर्दिया निकुञ्ज अन्र्तगत कर्णाली नदी, बबई नदी, गेरुवा नदीसँगै बढैया ताल र सतखलुवा ताल लगायतका सिमसार क्षेत्रमा जल पक्षी गणना गरिने र जलपक्षी गणनामा हिँडेको टोली मंगलबार बबई नदी, सतखलुवा ताल र बढैया ताल सम्म पुग्ने चराविज्ञ शाहीले बताए ।
आगन्तुक जल चराहरुका लागि नेपालकै दोस्रो ठूलो सिमसार क्षेत्र बढैया तालमा साइबेरिया, भारत लगायतका मुलुकबाट चराहरु आउने भएकाले तालको झार हटाउन औषधिको प्रयोग गरेर सफा गर्दा चराको वासस्थान बिनास भएको र तालमा माछा खाईदिने डरले चरा भगाउने त्रसाउने प्रमुख समस्या रहेको जल चरा गणनाका संयोजक रामबहादुर शाहीले बताए ।