बाँके, २३ पुस । नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज सन्तोष बुढाथोकीलाई खुकुरी प्रहार गरी घाइते बनाएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेपाल तरुण दलका क्षेत्रीय सभापति दिग्विजय राणालाई पक्राउ गरेको छ ।
बुढालाई खुकुरी प्रहार गरेको घटनामा संलग्नताको आधारमा राणासहित १० जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुढाथोकीलाई खुकुरी प्रहार गर्ने बाजुरा घर भई कोहलपुरमा बस्दै आएका लक्ष्मण मल्ललाई शुक्रबार राजधानीमा पक्राउ गरी बाँके ल्याईदै गरेको डिएसपी काफ्लेले बताए ।
मल्लसँगै उनलाई राजधानीमा सहयोग गर्दै आएका अर्का एकजना पनि पक्राउ परेका छन् । यसैबिच राणालाई अनाहकमा फसाइएको दाबी गर्दै नेपाल तरुण दल बाँकेले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । राणा पक्राउ परेलगत्तै कोहलपुरमा एक घण्टा चक्काजाम गरिएको छ । घटनाको बिरोधमा आइतबारदेखि अनिश्चितकालिन बाँके जिल्ला बन्द आव्हान गरिएको उपाध्यक्ष मनिष रेग्मीले बताए । बुढाथोकीलाई पुस १४ गते राति बाँकेको कोहलपुरमा खुकुरी प्रहार गरी घाइते बनाइएको थियोे ।