रुकुम, १८ पुस । रुकुममा सार्वजनिक खानेपानीका धारा हटाउदै एक घर एक धारा अभियान शुरु गरिएको छ । सरकारले जिल्लामा एक घर एक धाराको अवधारण शुरू गरेपछि सार्वजनिक खानेपानीका धाराहरु हराउन थालेको हो ।
एक घर एक धाराको अवधारण लागू भएपछि स्थानीयहरु पनि खुशी भएका छन् । अहिलेसम्म जिल्लाका सिस्ने, काँक्री, मोरावाङ, चुन्वाङ र सिम्ली गाविस बाहेक अरु सबै ठाउँमा यो कार्यकाक्रम लागू भएको कार्यालयको भनाई रहेको छ । एक घर एक धारा पु¥याउनको लागि ठूला आयोजनालाई विशेष प्राथामिकता राखेर काम सञ्चालन भईरहेको कार्यालय प्रमुख बधानथाछेले बताएका छन् ।
सार्वजनिक धारामा पानी प्रयोग गर्दा थोरै समय मात्र प्रयोग हुने र पछि कसैले मर्मत नगर्दा खानेपानीको समस्या बढ्दै गएपछि डिभिजन कार्यालयले यस्तो कार्यक्रम शुरू गरेको हो ।
कार्यक्रम लागू भएपछि लामो समयदेखि पानीको समस्या झेल्दै आएका सर्वसाधारणहरु घरमै पानी पुगेपछि खुशी भएका छन् । अहिलेसम्म यो कार्यक्रम झुला र पेउघा गाविसका विभिन्न ठाउँमा सम्पन्न भइसकेको छ भने अन्य धेरै ठाउँमा सम्पन्नको अन्तिम तयारीमा रहेको कार्यालयको भनाई छ ।
अब अति आवश्यक विद्यालय, मन्दिर बाहेका अन्य कुनै पनि ठाउँमा सार्वजनिक खानेपानीका धारा नबाउने गरेर सञ्चालन भईरहेका आयोजनामा काम भईरहेको बताएको छ ।