काठमाडौं, १३ पुस । नेपाल र चीनबीचको तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने सहमति भएको छ । चीनको खासामा हिजो भएको नेपाल–चीन द्विपक्षीय बैठकमा तातोपानी नाका छिट्टै सञ्चालन गर्ने सहमतिपछि नाका खुल्ने संकेत देखिएको छ।
चीनका तर्फबाट स्वशासित क्षेत्र तिब्बतका सुरक्षा प्रमुख मेजर जनरल गाओ वान हाई र नेपालका तर्फबाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालको संयोजकत्वमा भएको बैठकमा दुवै पक्षका अधिकारीले छिट्टै नाका सुचारु गर्न प्रतिबद्ध रहेको जनाएका थिए ।
“तातोपानी नाका सञ्चालनमा नआउँदा देशलाई ठूलो आर्थिक घाटासमेत परेकाले अब छिट्टै खोल्न चिनियाँ सरकार तयार देखिएको छ,” बैठकमा प्रतिनिधित्व गरेका मेजर जनरल गाओको भनाई उधृत गर्दै प्रजिअ सिलवालले भने, “मितेरी पुलदेखि खासासम्मको १५ किलोमिटर सडक स्तरोन्नतिपछि नाका खुल्नेछ ।”
गाओले नाका सुचारु हुने मिति यकिन नभए पनि सडक सञ्चालनमा आएपछि तातोपानीबाट व्यापारिक कारोबार भने हुने बताएको सिलवालले जानकारी दिए ।
यसअघिको सीमा बैठकमा चिनियाँ पक्षले नाका सञ्चालनमा सडकको कारण देखाएको थियो । नेपाली पक्षले यो बैठकमा खासा जाँदा सो सडक अवलोकनसमेत गरेको थियो । तातोपानी नाका गत वर्षको विनाशकारी भूकम्पपछि बन्द अवस्थामा छ ।