बारा, १२ पुस । नेपाल प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वालासिंह समूहका बारा जिल्ला कमान्डर विजय पटेल पक्राउ परेका छन् ।
बाराको फेटामा घर भएका पटेललाई मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो । गएको शनिबार नै पक्राउ परेका पटेललाई हेटांैडाले त्यही दिन जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाएको भए पनि बारा प्रहरीले सोमबार मात्र उनी पक्राउ परेकोबारे जानकारी दिएको हो । राजधानीमा खवर छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बाराका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।
१७ वैशाख २०६६ मा बाराको कलैया नगर–१० निवासी शिक्षक प्रदीप तिमल्सिनाको हत्यामा पटेल संलग्न रहेको प्रहरीले जनाएको छ । शिक्षक तिमल्सिनालाई बाराको फेटामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट घर फर्कने क्रममा सडकमै गोली हानी हत्या गरिएको थियो ।
‘पटेलमाथिको मुद्दा मुल्तबीमा छ, त्यसैले थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ,’ राजधानीसँग कुराकानी गर्दै प्रहरी नायब उपरीक्षक रेग्मीले भने, ‘उनीविरुद्ध कर्तव्य ज्यान, चन्दा असुली, धम्कीलगायतको मुद्दासमेत दर्ता भएकाले गम्भीर रूपमा अनुसन्धान भइरहेको छ ।’