Indrenionline.com

वायुसेवा निगमले साढे २३ अर्बमा दुई ठूला जहाज हात पार्यो

काठमाडौं, ११ पुस । नेपाल वायुसेवा निगमलाई अनुमानभन्दा निकै कम मूल्यमा ठूला जहाज हात परेका छन् । निगमले दुई जहाजका लागि २६ अर्ब रुपैयाँ अनुमान गरेकोमा साढे २२ अर्ब रुपैयाँमै विमान उपलब्ध गराउने गरी एक अमेरिकी कम्पनीले प्रस्ताव गरेको छ ।

अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनले २० करोड ८० लाख अमेरिकी डलर अर्थात् २२ अर्ब ५० करोड रुपैयाँमा दुइटा वाइड बडी जहाज (एयरबस ३३०–२००) उपलब्ध गराउने प्रस्ताव गरेको निगम प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि आह्वान गरेको ग्लोबल टेन्डरमा सहभागी कर्पोरेसनले ‘ब्रान्ड न्यू’ जहाज दिने गरी यो प्रस्ताव गरेको छ । कम्पनीको प्रस्ताव अन्य १० कम्पनीमध्ये सबैभन्दा सस्तो हो ।

यसै प्रस्तावलाई आधार मानेर निगमले गठन गरेको सिफारिस समितिले सञ्चालक समितिलाई कर्पोरेसनमार्फत जहाज खरिद गर्न सिफारिस गरेको हो । निगम व्यवस्थापनले प्राविधिक विभागका प्रमुख आरबी शाहको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।