काठमाडौँ, ८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायमा पहुँच नपुगेका समुदायलाई न्याय दिलाउन सरकारी वकिलको महत्वपूर्ण योगदान हुने बताएकी छन् ।
राष्ट्रपति भण्डारीले मुलुकको लोकतन्त्र, शान्ति सुरक्षा, कानुनी शासन, दण्डहीनताको अन्त्य, मानवअधिकारको रक्षाका लागि फौज्दारी न्याय प्रशासन सुदृढीकरण गर्न सरकारी वकिलको क्रियाशीलताको अपरिहार्य रहेको बताइन ।
राष्ट्रपति भण्डारीले भनिन – “फौजदारी न्याय प्रशासनको महत्वपूर्ण अङ्गका रुपमा रहेको महान्यायाधिवक्ता र सरकारी वकिलले कानुनी शासन कायम राख्न क्रियाशील हुनुपर्छ ।”
आफ्नो व्यवसायलाई प्रभावकारी बनाउन सरकारी वकिललाई व्यावसायिक रुपमा दक्ष, सक्षम हुनुपर्नेमा जोड दिँदै उनले मुद्दामामिलामा सरकारको तर्फबाट प्रभावकारी रुपमा निरन्तर सरकारी वकिल क्रियाशील हुनुपर्ने आवश्यकता औंल्याइन।