हुम्ला, ५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका दुःखका दिन अन्त्य गर्न सरकार गम्भीर हुने बताएका छन् । हुम्लाको सिमीकोटमा आयोजित जनसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
‘हुम्लामा दोस्रोपटक आएको बताउदै उनले आफू खुसी र गर्वको महशुस भएको बताए । प्राकृतिक छटाले भरिपूर्ण हुम्ला अथाह सम्भावना भएर पनि पिछडिएको भन्दै उनले भने, हुम्लाका राजनीतिक दलका प्रतिनिधिहरुले पेश गर्नुभएको ज्ञापनपत्रप्रति मैले गम्भीर रुपमा ध्यान दिनेछु ।’
आमसभामा प्रधानमन्त्रीले हुम्लामा जलविद्युत्, खेल मैदान, पर्यटकीय पूर्वाधार निर्माण लगायत योजनामा आवश्यक बजेट बिनियोजन गर्ने घोषणा गर्नुभयो । प्रधानमन्त्रीले भने, ‘हुम्लाको खेल मैदान निर्माणका लागि सरकारले तीन करोड बजेटको व्यवस्था गर्नेछ । जिल्लाका छरिएर रहेका बस्तीलाई एकीकृत नमूना बस्ती निर्माण गर्न, हिल्सा नाका खुला गर्न सरकारले कुटनीतिक पहल गर्नेछ ।’
माओवादी केन्द्रका बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, शक्तिबहादुर बस्नेत लगायतले कर्णालीको विकासमा राज्यले प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए ।