सुर्खेत, ५ पुस । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक मान्यता उल्ट्याउने कोशिस भइरहेको बताएका छन् ।
गणतन्त्र जोगाउन माओवादी एकतामा जोड दिँदै प्रचण्डले भने, ‘हामीले दश माओवादी घटकसँग एकता गरेका छौं । तर, माओवादी एकता अभियान पुरा भएको छैन । अहिले पनि विभिन्न धारामा रहेका माओवादीहरुसँग एकताको प्रयत्न जारी छ । मैले सबैसँग निरन्तर कुराकानी गरिरहेको छु । पहिले हामीले पार्टीको एकतालाई मजभूत बनाऔं, अनि सबै माओवादी धारालाई एकतावद्ध गर्न सबैले पहल गरौं । हामीले प्रष्ट रुपमा बुझ्नुपर्छ, माओवादीको एकता अभियान अहिले पनि जारी छ ।’
संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, पूनर्निर्माण र समृद्धि सरकारका मूख्य प्राथमिकता भएकोमा जोड दिँदै प्रचण्डले सरकार आफ्ना प्राथमिकतामा स्पष्ट भएको बताए । संविधान कार्यान्वयन, पूनर्निर्माण, सन्तुलित विदेश नीति, वैदेशिक रोजगारीमा गएका नेपालीहरुका समस्या समाधानमा सरकार निरन्तर क्रियाशील भएको र सरकारले गरीबका लागि सरकार, जनता पेन्सनजस्ता महत्वपूर्ण कार्यक्रम ल्याउँदै गरेको उनले जानकारी दिए ।