Indrenionline.com

सामूहिक राजीनामा दिने १४ जिल्लाका गाविस सचिवहरुको चेतावनी

काठमाडौ, ५ पुस । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका गाविस सचिवले आफूहरुलाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सरुवा दिने वातावरण नबनाए सामूहिक राजीनामा गर्ने चेतावनी दिएका छन् ।

गाविसभन्दा अन्य कार्यालयका निजामती कर्मचारीको निश्चित समयपछि सरुवा हुने गरेको तर गाविस सचिवको लामो समयदेखि सरुवा नभएको भन्दै उनीहरूले मन्त्रालयले सरुवा गर्ने वातावरण नबनाए सामूहिक राजीनामा दिने चेतावनी दिएका हुन् ।

सो अवसरमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे भने सरकार अहिले संविधान कार्यान्वयन गर्ने क्रममा रहेकाले गाविस सचिवलाई आन्दोलित नभई गाउँमा गएर सेवाग्राहीको काम गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गाविस सचिवको समस्या र कार्यबोझप्रति म सकारात्मक छु तर अहिले तपार्इँहरूले आन्दोलन गर्ने होइन जनताको सेवा गर्ने हो ।

गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालले सोमबार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई अनुरोधपत्र बुझाउँदै अन्य निजामती कर्मचारी जस्तै गाविस सचिवलाई पनि सरुवा हुन पाउने वातावरण निर्माण गरिदिन आग्रह गरेका हुन् ।