काठमाडौं, ४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मंगोलियाका परराष्ट्र मन्त्री सेण्ड मुङ्क अर्गिलबीच भेट भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र मंगोलियाबीच आपसी सम्बन्ध सुदृढ गर्नेबारे कुराकानी भएको थियो ।
भेटमा मंगोलियाका परराष्ट्र मन्त्री अर्गिलले दुई देशको सहकार्य र साझेदारीमा विकासका धेरै काम गर्न सकिने बताउँदै लुम्बिनी लगायत नेपालका महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्रको विकासमा मंगोलियाको सहयोग रहने बताए ।
सो अवसरमा नेपाल र मंगोलियाबीच कुटनीतिज्ञ र सरकारी अधिकारीहरुका लागि निशूल्क भिसासम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत र मंगोलियाका तर्फबाट परराष्ट्र मन्त्री अर्गिलले हस्ताक्षर गरेका छन् ।