काठमाडौ ४ पुस । निजी एयरलाइन्सहरुले दुर्गम बाहेक ट्रंक सगम र पर्यटकीय रुटको हवाई भाडा आज सोमबारदेखि लागू हुने गरी ३० प्रतिशतसम्म बढाएका छन् ।
यसपटक सबैभन्दा धेरै काठमाडौं–धनगढी रूटको हवाई भाडा बढाईएको छ । यस रुटमा आइतबारसम्म एकतर्फी भाडादर १० हजार १ सय रुपैयाँ थियो । तर, सोमबारदेखी जारी भएका टिकटमा २३ सय रुपैयाँ थप भई १२ हजार २ सय रुपैयाँ बनाइएको छ । कान्तिपुरमा खवर छ । पूरानो भाडा दरमा पर्वतीय उडानको भाडामा सबैभन्दा धेरै २४ सय ७५ रुपैयाँ थपिदा ११ हजार रुपैयाँ पुगेको छ ।
त्यसैगरी काठमाडौं देखि भद्रपुरमा १८ सय ७०, विराटनगरमा १६ सय ४५, जनकपुरमा ६ सय, सिमरामा ५ सय ६५, तुम्लिङ्गटारमा ९ सय ८५, भरतपुरमा ६ सय, भैरहवामा ११ सय ७०, पोखरामा ८ सय ९०, नेपालगंजमा २१ सय २५ रुपैयाँ थपिएको छ ।
त्यसैगरी पर्यटकीय रुट मानिने लुक्लामा १२ सय ४५ रुपैयाँ थपिएको छ भने पोखरादेखी जोमसोमको रुटमा ७ सय २५ रुपैयाँ थपिएको छ । हवाई टिकटमा भाडा, फियुल सर्भिस चार्ज र यात्रु सेवा शुल्क ९एयरपोर्ट ट्याक्स० हुन्छन् । यसपटकको वृद्धिमा फियुल सर्भिस चार्जको भाडादर पनि एयरलाइन्सहरुले चलाएका छन् । यी क्षेत्रको यात्रु सेवा शुल्क २ सय रुपैंया भने यथावत छ ।
नेपालगंजबाट पहाडी रुटहरु सिमिकोट, जुम्ला, मुगुको रारा, बाजुरा, डोल्पामा हुने दुर्गम हवाई भाडा भने पुरानै छ । त्यसैगरी काठमाडौं र विराटनगरबाट पूर्वी पहाडी रुटमा हुने हवाई सेवाको भाडा पनि पूरानै छ । तर, हाल उडानमा रहेका एयरलाइन्सहरुले बढीमा २० प्रतिशत हाराहारी मात्रै दुर्गममा उडान भर्छन् ।
दुर्गम क्षेत्रका दर्जन बढी रुटमा उडान भर्ने नेपाल वायु सेवा निगम हो । तर, उसले अधिकाशं रुटमा जहाज नभएको कारण देखाउदै नियमित उडान गर्दैन । निजी हवाई सेवा कम्पनी र नागरिक उड्डयन प्राधिकरण हरेक दुई वर्षमा हवाई भाडा पुनरावलोकन गर्ने शर्त अनुसार, यसपटक भाडा बढाइएको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए ।