आयोजनाको निर्माण कार्यतालिका तीन दिनभित्र पेश गर्न निर्देशन
दोलखा ( तामाकोशी ), २ पौष । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्यतालिका तीन दिनभित्र पेश गर्न आयोजना प्रमुखलाई निर्देशन दिनुभएको छ । माथिल्लो तामाकोशी आयोजनाको निरीक्षण भ्रमण गर्ने क्रममा मन्त्री शर्माले आयोजना प्रमुख, कर्मचारी तथा परामर्शदातासँगको छलफलका क्रममा आयोजनाको ‘रिसेड्यूलिङ’ गर्न निर्देशन दिनुभएको हो ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रमुख विमल गुरुङ र प्रोजेक्ट म्यानेजर विज्ञान श्रेष्ठले आयोजनाको काम निर्धारित समय अर्थात सन २०१८ को जुलाईमा सम्पन्न हुने बताइरहँदा निर्माण कार्यको प्राविधिक नेतृत्व गरिरहेका अधिकारीहरुले त्यो संभावना नरहेको बताएपछि मन्त्री शर्मा आश्चर्यमा पर्नु भएको थियो । “यो के भएको हो, तपाईहरु राम्रोसँग छलफल गर्नुस र मलाई तीन दिनभित्र रिपोर्ट दिनुस् ।” मन्त्री शर्माले प्रश्न गर्नुभयो “आयोजनाको लक्ष गलत भयो कि, तपाईहरुको रिपोर्ट गलत भयो, यो अन्यौल तत्काल अन्त्य गर्नुस ।”
मन्त्री शर्माले लामाबगरस्थित आयोजनाको ड्याम साईड, निर्माणाधीन सुरुङ तथा गोंगरस्थित निर्माणाधीन पावर हाउसको निरीक्षण भ्रमण गर्नुभएको छ । त्यसक्रममा उहाँले सरकारको तर्फबाट गर्नसकिने काम तत्काल गरिदिने भन्दै निर्माणको कामलाई तीब्रता दिन आग्रह गर्नुभयो ।
नागरिक अभिनन्दन
राजधानी काठमाडौंलगायत देशका मुख्य मुख्य शहरहरुलाई लोडसेडिङमुक्त गराएको भन्दै उर्जामन्त्री जनार्दन शर्मालाई नागरिक अभिनन्दन गरिएको छ । दोलखाका लामिडाँडा गाविसस्थित सिंगटी बजारमा आयोजित एक समारोहबीच सिंगटी नागरिक समाजले मन्त्री शर्मालाई नागरिक अभिनन्दन गरेको हो । यसैगरी समाजले उर्जासचिव अनुप कुमार उपाध्याय र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि अभिनन्दन गरेको छ ।