दोखला (चरिकोट) २ पौष । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तरगत जलविद्युत आयोजनाहरुमा हरेक घर परिवारलाई कम्तीमा एक लाख शेयर दिइने बताउनुभएको छ ।
एक लाख रुपिँया शेयर हाल्न नसक्ने विपन्न परिवारको हकमा बैंकमार्फत ऋण मिलाईदिने र त्यसको साँवा व्याज श्रम गरेर तिर्ने व्यवस्था मिलाइने उहाँले बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो “लगानीसम्बन्धी प्रतिवद्धता पत्र लिएर केही समयमै तपाईको घर आँगनमा सरकारका प्रतिनिधिहरु आउनेछन्, फाराम भर्नुहोला ।”
उहाँल अति विपन्न परिवारलाई सहुलियत दरको शेयर उपलब्ध गराउने व्यवस्था पनि सरकारले गरेको जानकारी दिनुभयो । एक कित्ता शेयरको एक सय रुपिँया पर्नेमा अति विपन्नहरुको लागि ५० रुपैंया तिरेर एक कित्ता शेयर किन्ने व्यवस्था मिलाईने उहाँले बताउनुभयो ।
नेपालको पानी जनताको लगानी अन्तरतगत ठूला जलविद्युत आयोजनाहरुमा ३० प्रतिशत जनताको शेयर रहने नीति बनाइएको जानकारी दिँदै मन्त्री शर्माले हरेक कार्यकर्तालाई पनि त्यसमा सहभागी हुन आग्रह गर्नुभयो ।
