प्रबीर ददेल
रुकुम- शान्ति स्थापनासँगै रुकुम समृद्धिको बाटोमा अगाडि बढेको छ । विशेषगरी १२ वर्षे सशस्त्र द्वन्द्वका कारण एकदशक विकास निर्माण अवरुद्ध बनेको रुकुम शान्ति स्थापनासँगै विकास निर्माणको कार्य गाउँगाउँमा पुगेपछि रुकुमको मुहार फेरिएको हो ।
सडक, यातायात, सञ्चार, विद्युत्, शिक्षा, स्वास्थ्य, जलविद्युत्, खानेपानी, बजारीकरणलगायतका विकासका पूर्वाधारका कारण जिल्लाको समृद्धि बढिरेहको छ । गाउँगाउँमा विस्तार हुँदै गएको सडक सञ्जालका कारण अहिले दुर्गम गाउँमा समेत यातायातको पहुँच बढेको छ । जिविसका अनुसार जिल्लाभर ५७ वटा सडक बनेका छन् भने २ नगरपालिका र ३३ गाविसमा सडक यातायातको सुविधा पुगेको छ । बाँकी ९ गाविसमा ३ वर्षभित्र सडक यातायातको पहुँच पुर्याउने लक्ष्य रहेको स्थानीय विकास अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
सडक निर्माण
जिल्लाभर ८ सय ८३ किलोमिटर सडकको निर्माणकार्य सम्पन्न भएको जिविसले जनाएको छ । त्यसमध्ये राप्ती लोकमार्गअन्तर्गतको रूकुम खण्ड २८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । राष्ट्रिय गौरवको आयोजना मानिएको मध्यपहाडी लोकमार्गको निर्माण कार्यसँगै बढ्दै गएको बजारीकरण र त्यससँग जोडिएका विभिन्न पक्षले पनि रुकुमको भविष्यलाई उज्ज्वल बनाएको छ । लोकमार्गको १ सय २४ किलोमिटर सडकखण्डलाई तीन भागमा विभाजन गरी सडक आयोजनाको काम भइरहेको छ । लोकमार्ग खुलेपछि राजधानीसँग केही घण्टाको मात्र सवारी दूरी हुनेछ । लोकमार्गको निर्माणसँगै शुरु गरिएको चौरजहारी नमूना शहर विकास कार्यक्रम पनि हाम्रो लागि सुखद् पक्ष हो । त्यस्तै, रुकुमका दुईरदुईओटा विमानस्थल स्तोउन्नति ९कालोपत्रे० गरिएको छ भने नियमित रुपमा हवाइ सेवासमेत सञ्चानमा छ ।
सञ्चार
रुकुम जिल्लामा पछिल्लो समय सञ्चारको समेत उल्लेखनीय प्रगति भएको छ । जिल्लाभरमा नेपाल टेलिकम, एनसेल तथा हेलो प्रविधिका फोन, इण्टरनेट तथा मोबाइल सेवाले जिल्लाभर सञ्चार सुविधा पुगेको छ । रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरु खुल्ने क्रम बढ्दै गएपछि स्थानीयहरुको पहुँचसमेत बढिरहेको छ । रुकुम उज्यालो कार्यक्रमअन्तर्गत लघु तथा साना जलविद्युत् आयोजनामार्फत गाउँ–गाउँमा भइरहेको विद्युतीकरणले पनि जिल्लाको अर्को सम्भावना बोकेको छ । जिविसका अनुसार आगामी ३ वर्षभित्र जिल्लाका सबै घरधुरीमा विद्युतिकरण गर्ने लक्ष्य छ ।
शिक्षा
सुधँ्रदै गएको सामुदायिक विद्यालयको गुणस्तरीयताका कारण शिक्षाक्षेत्रमा पनि उल्लेख्य प्रगति आँकलन गर्न सकिन्छ । सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा, अङ्ग्रेजी माध्यमबाट अध्यापन, बहुभाषा शिक्षा, पुस्तकालयहरुको सुविधा, अतिरिक्त कक्षाको व्यवस्था, बढ्दो भौतिक पूर्वाधार निर्माण, विद्यालय सुधार योजनाको कार्यान्वयन, शिक्षकको पेशागत दक्षताको विकासका कारणले गुणस्तर बढ्दै गएको जिल्ला शिक्षा अधिकारी रामलाल खड्का बताउँछन् । उनी भन्छन् – ‘जिल्लाको शैक्षिक स्तर सुधारोन्मुख रहेको छ ।’
स्वास्थ्य
यस्तै रुकुमको स्वास्थ्यक्षेत्रमा समेत सुधार भएको छ । जिल्ला अस्पताल सल्लेमा जटिल प्रसूति सेवासहितको विशेषज्ञ सेवा, फार्मेसी, जिल्लामै भरपर्दो उपचार पद्धति, ग्रामीण क्षेत्रका स्वास्थ्यचौकीहरुमा औषधिको सहज पर्याप्तता र स्वास्थ्यकर्मीहरुको नियमितताले पनि स्वास्थ्यक्षेत्रमा भएको प्रगतिलाई उँचो बनाउँदै लगेको छ । जिल्ला अस्पतालमा सबैखाले रोगहरुको उपचार गर्ने सुविधा भएपछि सानो स्वास्थ्य समस्याका लागि हेलिकोप्टर चार्टर गरी बाहिर जानुपर्ने अवस्था केही हदसम्म टरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा। क्षितिज सापकोटाले जनाए । उनका अनुसार–‘जिल्लाको स्वास्थ्य अवस्थामा सुधार भएको छ भने दुर्गमगाउँसम्म स्वास्थ्यको पहुँुच पुगेको छ ।
व्यापार
गाउँ–गाउँमा बढ्दै गइरहेको बजारीकरणका कारण गाउँहरु व्यापारिक केन्द्रहरुमा परिणत हँुदै छन् । विशेषगरी यातायातको सुविधा पुगेपछि जिल्लाको झुल्नेटा, सिम्रुतु, सोलावाङ, चौरजहारी, सिम्ली, आठबिसकोट, रुकुमकोट, तकसेरालगायतका गाउँ बजारमा परिणत भएका हुन्, जसमा दैनिक करोडौंको कारोबार हुने गरेको छ । केही वर्षअघिसम्म दैनिक उपभोग्य सामग्रीको अभाव झेल्ने रुकुमका गाउँ बस्ती बजारमा परिणत भएपछि विकासको अनुभूति गरेका छन् । गाउँमा भएको बजारीकरणसँगै रोजगारी, वित्तीय पहुुँच, उपभोग्य सामग्रीहरुको सहज र उपलब्धता पनि बढिरहेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष टेकबहादुर पुनले जानकारी दिएका छन् । रुकुम अनेक सम्भावना बोकेको जिल्ला हो । त्यस्तै, बीऊबिजन र जडीबुटी उत्पादनले रुकुम जिल्लाको आर्थिक समृद्धिका लागि ठूलो योगदान पु¥याएको छ ।
कृषि
विशेषगरी मुला, काउली, रायो, चम्चुर, प्याजलगायतका बीऊ उत्पादनले रुकुमको अर्थतन्त्रलाई बलियो बनाएको जिल्ला कृषि विकास अधिकृत सहदेवप्रसाद हुमागाईंले जानकारी दिए । उनले भने, ‘बीऊ उत्पादनसँगै रुकुमको कृषि उत्पादनको सम्भावनासमेत राम्रो छ ।’ रुकुममा उत्पादन बीऊ देशका ठूला शहरका साथै विदेशमा समेत निर्यात हुने गर्दछ । तरकारी र बीऊ उत्पादनका लागि पकेटक्षेत्र मानिएको जिल्लामा उत्पादित बीऊ विदेशसम्म निर्यात हँुदा हजारौं किसान व्यावसायिक बन्दै छन् । जिल्लामा रूकुम ब्राण्डकै बीऊहरु उत्पादन गरी विदेश निर्यात बढाउनका लागि बीऊ उत्पादन र उद्योग सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइसकिएको वरिष्ठ कृषि विकास अधिकृत हुमागाईंले जनाए । यस्तै, रुकुमको जडीबुटीले समेत विश्वबजार धानेको छ । विशेषगरी बहुमूल्य जडीबुटी, यार्सागुम्बा, पाँचऔंले, चिराइतो, जटामसी, समय, अमला, कुरिलो, गुच्छीच्याउलगायतका जडीबुटी पूर्वी रुकुमका जनताको मुख्य आय– आर्जनको स्रोत बनेको छ । खासगरी पूर्वी रुकुमका दुई दर्जन गाविस रन्मामैकोट, सिस्ने, तकसेरा, कोल, राङ्सी, मोरावाङ, स्यालाखदी, गोतामकोटलगायतका क्षेत्रको जीवीकोपार्जनको मुख्य स्रोत बनेको हो ।
रोजगार
शान्ति स्थापनासँगै गाउँ–गाउँमा बढ्दै गएका विकास निर्माणका आयोजनाहरुमार्फत बढ्दै गएको रोजगारीले युवाहरुको विदेश पलायनलाई केही हदसम्म रोकिरहेको छ । गाउँगाउँमा सहकारी घरघरमा भकारी भन्ने मूल नारासहित रुकुममा स्थापना भएका सहकारी संस्थाहरुले समेत गाउँमा रोजगारी स्थापना गरेको जिल्ला सहकारी सङ्घका अध्यक्ष नरबहादुर खड्काले जनाए । उनका अनुसार ‘सहकारीमार्फत रोजगारी र व्यावसायिक किसान बढेका छन् । जिल्लामा डेढ सय बढी सहकारी संस्थाहरु गाउँगाउँमा सक्रिय रहेका छन् भने घरेलु तथा साना उद्योगमार्फत पनि रुकुममा रोजगारी सृजना भएको छ । जिल्लामा उत्पादनमूलक र सेवामूलक गरी दुई किसिमका घरेलु तथा साना उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत कृष्ण आर्चायले जानकारी दिएका छन् । रुकुम सम्भावना अनेक भएको जिल्ला हो । त्यस्तै, पर्यटन सम्भावना पनि उत्तिकै छ । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकका लागि नयाँ गन्तव्य बन्न थालेको छ ।
पर्यटन
विशेषगरी ढोरपाटन शिकार आरक्ष, सिस्ने हिमाल, स्यार्पुताल, कमलदह, डिग्रे मन्दिर, गुरिल्ला पदमार्ग, यार्चा पदमार्ग, मुसीकोटडाँडा, तकसेराबस्ती, चौरजहारी फाँट, माछिमी जिउला रन्मामैकोटलगायतका क्षेत्र रुकुमको पर्यटकीय गन्तव्यको रुपमा विकास भएका छन् । यस क्षेत्रमा पर्यटकहरुको आकर्षण बढ्दै गएको जिल्ला पर्यटन सूचना केन्द्रका अध्यक्ष दीपक खड्काले जानकारी दिएका छन् । उनका अनुसार गतवर्ष मात्र ३ सय १३ विदेशी पर्यटक रुकुम पुगेका थिए भने ५ हजार बढी आन्तरिक पर्यटक रुकुम पुगेको जिल्ला सूचना केन्द्रको तथ्याङ्कले देखाएको छ । पर्यटन विकाससँगै होटलमा लगानी बढेको होटल व्यवसायीका अध्यक्ष नवराज गिरीले बताएका छन् । उनका अनुसार पछिल्लो समय होटलमा लगानी २० करोडभन्दा बढी लगानी भएको छ भने गाउँगाउँमा होमस्टे रुपमा समेत विकास भएको छ, जसले रुकुमलाई क्रमशः समृद्धिको बाटोमा डोर्याउँदै छ । जिल्लामा क्रियाशील राजनीतिक दलहरुबीचको आपसी सम्बन्ध र सद्भावसमेत उदाहरणीय बनिरहेको नागरिक अगुवाहरु बताउँछन् । जिल्लामा भएको पर्याप्त स्रोतसाधनका कारण रुकुम जिल्ला समृद्ध बन्दै गएको छ र नेपालकै नमूना जिल्ला बन्ने क्रममा अगाडि बढिरहेको छ ।