दिपायल, २३ मंसिर । अहिले विभिन्न क्षेत्रमा एचआइभी एड्स रोगका लागि सचेनतामूलक कार्यक्रमहरु व्यापक रुपमा सञ्चालन भइरहेका छन् । कहिल्यै सञ्चो हँदैन भन्ने एचआइभी लागेका व्यक्तिहरुलाई उनीहरुको शारिरिक प्रतिरोधात्मक क्षमता बृद्धि गरेर अन्य व्यक्ति जस्तै जिउन सक्ने औषधि समेत उत्पादन भइसकेका छन् ।
सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलको पछिल्लो तथ्यांकअनुसार यस क्षेत्रका ६ हजार २ सय ३८ जनामा एचआइभी संक्रमण देखिएका छन् । संक्रमितमध्ये एक सय भन्दा बढी १५ वर्षमुनिका बालबालिका छन् । एक वर्षअघि संक्रमितको संख्या ५ हजार ९ सय ४ थियो । अझै ६ हजारकै हाराहारीमा खुल्न नसकेका संक्रमित रहेको अनुमान छ ।
गरिबी, अशिक्षा, चेतनाको कमी तथा स्वास्थ्यमा सहज पहुँच नहुनुलगायतका कारणले ५० प्रतिशत संक्रमित समाजमा लुकेरै बसेका स्वास्थ्य निर्देशनलायको अनुमान छ । गरिवीका कारण यस क्षेत्रका अधिकांश पुरुषहरु भारत जाने र त्यहाँबाट आफू संक्रमति भएर आउने र श्रीमतीहरुलाई सार्ने गर्दछन् । यहाँ एचआइभी एड्सलाई बम्बैया रोग पनि भन्ने गरिन्छ । विषेश गरी पुरुषहरु भारतको मुम्मैमा रोजगारीका लागि जाने र त्यहाँबाट श्रीमानहरु संक्रमति भएर आउने भएकाले यसलाई बम्बैया रोगको नाम दिएका हुन् ।
सुदूरपश्चिममा संक्रमित महिलाको संख्या पुरुषकै हाराहारीमा छ । एचआईभी संक्रमितको संख्या बढी भएका सुदूरपश्चिमका जिल्लाहरुमा कैलाली, कञ्चनपुर, अछाम र डोटी छन् । संक्रमितको संख्या वृद्धि दर पनि यी चारवटै जिल्लामा अन्य जिल्लाको तुलनामा बढी भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ ।
निर्देशनालयको तथ्यांक अनुसार कैलालीमा सबैभन्दा बढी २ हजार ९ सय ४८, अछाममा १ हजार ३ सय ९१, डोटीमा ९ सय ९५, कञ्चनपुरमा ४ सय २०, बैतडीमा १ सय ५६ र डडेल्धुरामा १ सय ४९ जना संक्रमित छन् ।
पछिल्लो एक वर्षको अवधिमा कैलालीमा मात्रै १ सय ५० जना संक्रमित थपिएका छन् । यस्तै बझाङमा ८२, बाजुरामा ७४ र दार्चुलामा २३ जनामा एचआइभी संक्रमित देखिएको छ । अहिलेसम्म यस क्षेत्रमा एचआइभीका कारण ३ सय ५० जनाभन्दा बढीको मृत्यु भइसकेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
एचआइभीका लागि सरकारी बजेट र कार्यक्रम कम हुनु, अन्य क्षेत्रभन्दा गरिबी र अशिक्षा यस क्षेत्रमा बढी हुनु, स्वास्थ्यमा सहज पहुँच नहुनु एचआइभी रोकथामको प्रमुख चुनौती बनेको छ ।