Indrenionline.com

कक्षा ११ को पूरक परीक्षाको नतिजा प्रकाशित

काठमाडौं, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमीले आज कक्षा ११ को आंशिक (पूरक) परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । गएको जेठमा उच्च माध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको परीक्षाको नतिजा बोर्डले सार्वजनिक गरेको हो ।

परीक्षामा ३९ दशमलव ६३ प्रतिशत विद्यार्थी उतीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । परीक्षामा १ लाख ७ हजार ९ सय ९५ ले विद्यार्थी सहभागी भएकोमा ४२ हजार ७ सय ९९ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

गएका वर्षमा कक्षा ११ को नियमित र आंशिकको नतिजा एकै पटक प्रकाशित गर्ने गरेपनि यसपटक भने बोर्डले नियमित परीक्षाको नतिजा भन्दा अगाडि नै आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको अर्यालले बताए ।

उनका अनुसार एकै पटक नतिजा सार्वजनिक गर्दा कक्षा १२ पास भएका तर कक्षा ११ मा १ वा २ विषयको आंशिक परीक्षा दिएका विद्यार्थीले माथिल्लो तह पढ्न अर्को एक वर्ष पर्खनु पर्ने भएकाले आंशिकको नतिजा छिटो सार्वजनिक गरेको हो ।

कक्षा १२ उतीर्ण भईसकेका तर कक्षा ११ को आंशिक परीक्षा दिएका परीक्षार्थी मध्ये उतीर्णले अब स्नातक तह अध्ययन गर्न पाउने उनले बताए । कक्षा ११ को नियमित परीक्षाको परीक्षाफल भने आगामी पुस महिनाको १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको अर्यालले जानकारी दिए ।