Indrenionline.com

सन्थाल जातिको वाध्यता: छाक टार्न मुसाको सिकार

मोरङ, २१ मंसिर । मोरङ जिल्लाको पथरी शनिश्चरेमा सन्थाल जातिहरु मुसालाई मारेर तरकारीको रुपमा छाक टार्ने गर्दछन् । सन्थालहरु मुसाको मासु तरकारीको रुपमा खाने गर्छन् ।

मुसालाई आहार बनाउनकै लागि धेरै मेहनत गर्छन् । परम्पराकै रुपमा ती समुदायले मुसाको सिकार गर्छन् । सीमान्तकृत तथा अति विपन्न समुदायका मानिस मासु खाने प्रयोजनका लागि मुसाको सिकार गरेर तरकारीको गर्जो टार्ने गरेको पाइन्छ । गहुँ छर्ने तयारी भइरहेका खेतमा उनीहरु जान्छन् र मुसाको दुलो पत्ता लगाएर मुसो भएसम्म खनेर मार्ने गर्दछन् ।

मोरङको पथरी शनिश्चरेका पल्टाराम मुर्मु, गोपीलाल मुर्मु र पञ्चु हस्दा मुसा सिकारको खोजीमा शिशवनी जहदाबाट जिल्लाका विभिन्न ठाउँका खेतमा मुसाको दुलो खोल्नेकाम उनीहरुको दिनचर्या जस्तै बन्ने गर्दछ ।

उनीहरु दोहलु, सिरिसे, बयवन, रिगुवा, शनिश्चरे, कीर्तिपुरलगायत क्षेत्रका खेतमा मुसा मार्दै दिन बिताउने गर्छन् । मुसाको परिकार मीठो हुने भएकाले खाली समयको सदुपयोग गर्न मुसाको सिकारमा आएको पल्टा मुर्मुको भनाइ छ ।

तराईवासी सन्थालसहित, बाँतर र ऋषिदेव समुदायका मानिस मुसा मासु खाने प्रयोजनका लागि मुसालगायत स्याल, खरायो, वनबिरालो र न्याउरी मुसाको सिकार गर्ने गर्दछन्। विशेष गरी मङ्सिर, पुस, माघ, फागुन, चैत, वैशाखमा आफूहरुले विभिन्न सिकार गर्ने गरेको पथरी शनिश्चरे–११ का पञ्चु हस्दाले बताए ।