काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी माओवादीका महा–सचिव नेत्रविक्रम चन्द विप्लवले १० वर्षे युद्धका क्रममा तत्कालिन माओवादीले सञ्चालन गरेको ‘जनसत्ता’ ब्युँताएर गाउँ–गाउँमा आफ्नै पार्टीको नेतृत्वमा स्थानीय सरकार बनाउने उद्घोष गरेका छन् ।
शुक्रबार काठमाडौंको खुल्लामञ्चमा ‘बेपत्ता योद्धा स्मृति दिवस’ को अवसरमा आयोजीत जनसभालाई सम्बोधन गर्दै विप्लवले भने, ‘यो देशमा केपी ओली प्रमुख भएको सरकार मात्र छैन्, सन्तोष बुढामगर सत्ता प्रमुख भएको समानान्तर सरकार गठन भैसकेको कुरा सबैले हेक्का राखे हुन्छ ।’ आफूहरुलाई किसान, मजदुर र सर्वसाधारण जनताले साथ दिने दावी गर्दै नेता विप्लवले वर्तमान सरकारको प्रतिष्पर्धीका रुपमा स्थानीय सत्ता ब्युँताउन लागिएको बताए ।
‘वर्तमान सत्ताले लड्नेहरुलाई जेलमा सडाउने प्रयत्न गर्दै छ’ उनले भने, ‘सर्वोच्च भनिने प्रतिक्रियावादीको अड्डाले त्यस्तो दुस्साह गरेको छ ।’
शहिद बेपत्ताको मुल्य बेचेर खाएमा अर्को राज्य र अर्को कानुन खडा गरिने जिकिर गर्दै उनले भने, ‘यदि युद्धकालमा मुद्दा ब्युँताएर हाम्रो घरमा म्याद टाँसियो भने त्यसको भोलिपल्ट केपी ओलीको घरमा म्याद टाँसिदिन्छौं ।’
लामो समयको अन्तरालपछि खुल्लामञ्चमा हजारौं कार्यकर्ता उतारेका विप्लवले नेपालमा लोकतन्त्र नआएको भन्दै अराजकतन्त्र आएको र कमिसनतन्त्रले जनतालाई थिचिरहेको दाबी गरे । ‘यो देशका मन्त्रालयहरुमा दिउँसै कमिसनको बार्गेनिङ हुन्छ, दलहरु सँधै सत्ताको बार्गेनिङमा तल्लिन हुनेगरेका छन्, त्यसैले अहिलेका मान्छेहरुले सत्ता चलाएसम्म देशमा परिवर्तन आउँदैन ।’ उनले भने ।