काठमाडौं, १९ मंसिर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्थागत रुपमै खेल क्षेत्रको विकास गर्न सरकार क्रियाशील रहेको बताएका छन्। आज माओवादी केद्रमा प्रवेश गर्ने खेलाडीहरुको पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।
माओवादी केन्द्रमा प्रवेश गर्ने खेलाडीहरुलाई प्रधानमन्त्रीले भने, ‘तपाईहरु जुन विश्वासका साथ माओवादी आन्दोलनमा आउनुभएको छ, यसले हामीलाई उत्साही र गम्भीर बनाएको छ । राष्ट्र र जनताको प्रगति र विकासका लागि जिम्मेवारी थपिएको महशुस गरेको छु । सरकारले खेलाडीहरुको भावना र खेल क्षेत्रका समस्या सम्बोधन हुने गरी नयाँ योजना ल्याउँछ ।’
कार्यक्रममा कराँतेका अन्तर्राष्ट्रिय खेलाडी ध्वजमान मोक्तान सहितका दुई दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरेका थिए ।