मंसीर १८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव दर्तापछि देश निर्वाचनतिर उन्मूख भएको भन्दै निर्वाचनको वातावरण बनाउन सबैले पहल गर्नुपर्ने बताउनु भएको छ ।
भेटमा प्रधानमन्त्रीले शहिद परिवारलाई माथिल्लो तामाकोशीमा शेयरको व्यवस्था गर्न सरकार लागिरहेको जानकारी दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘आज बिहान मैले अर्थमन्त्री, अर्थसचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र अर्थ मन्त्रालयका सहसचिवलाई बोलाएर कुरा गरेको छु । माथिल्लो तामाकोशीमा सरकारको ११ अर्ब शेयर छ, त्यही रकमलाई शहिद परिवारको शेयरमा बदल्न आवश्यक कानूनी प्रक्रिया थाल्न भनेको छु । छिटै त्यो रकम शेयरमा बदलिन्छ ।’
प्रधानमन्त्रीले शहिद परिवारको दवावले माओवादी आन्दोलन एकतावद्ध हुनसक्ने भन्दै साझा मुद्धामा मिलेर जाने वातावरण निर्माणका लागि सकारात्मक दवाव दिन आग्रह गर्नुभयो । माओवादी नेतृ जयपुरी घर्ति, पूर्वमन्त्री गणेशमान पुनको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले शहिद परिवारले राज्यबाट पाउनुपर्ने राहत रकमलाई माथिल्लो तामाकोशीमा शेयरको व्यवस्था गर्न, शहिदहरुको नामावली राजपत्रमा प्रकाशित गरी अभिलेख राख्न, शहिदका छोराछोरीले २५ वर्षसम्म निशूल्क पढ्न पाउने व्यवस्था गर्न, शहिदहरुको जीवनी प्रकाशित गर्न, शहिदहरुका नाममा स्मारक, प्रतिक्षालय, गाउँपालिका, नगरपालिकाहरुको नामकरण गर्न, शहिद परिवारको आपतकालीन व्यवस्थाका लागि अक्षयकोषको व्यवस्था गर्न, सत्य निरुपण र बेपत्ता आयोगको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।