काठमाडौं, १७ मंसिर । सरकारले पुस पहिलो सातामा करिब एक खर्ब रुपैयाँ बराबरको पूरक बजेट ल्याउने भएको छ । गत भदौमा प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका संसद्मा घोषणा गरेका नयाँ कार्यक्रमका लागि स्रोत जुटाउन सरकारले पूरक बजेट ल्याउने भएको हो । तर राजनीतिक सहमति भए मात्रै बजेट ल्याउने सरकारको तयारी छ ।
प्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनर्निर्माणमा ठूलो रकम खर्च हुने घर पुनर्निर्माण अनुदानका लागि दाहालले एक लाख रुपैयाँले बढाएर प्रतिपरिवार तीन लाख रुपैयाँ दिने घोषणा गरेका थिए । “नियमित बजेटमा प्रधानमन्त्रीले घोषणा गरेका राहातका कार्यक्रमहरू परेका छैनन्,” रेग्मीले भने, “नयाँ कार्यक्रमका लागि थप बजेटको आवश्यकता परेको हो ।”
सरकारले चालू आवका लागि भन्दै नियमित समयभन्दा ४५ दिन पहिले नै १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । यसमध्ये चालू खर्च ६ खर्ब १७ अर्ब १६ करोड र पुँजीगत ३ खर्ब ११ अर्ब ९४ करोड रुपैयाँ छुट्याइएको छ ।
बजेटको सबैभन्दा ठूलो हिस्सा १ खर्ब ४० अर्ब रुपैयाँ भूकम्पपछिको पुनर्निर्माणका लागि विनियोजन भएको छ ।
अघिल्लो सरकारले घोषणा गरेको घर पुनर्निर्माण अनुदान र पुनर्निर्माणका अन्य कार्यक्रममा दाहालले थप नयाँ कार्यक्रम घोषणा गरेपछि थप स्रोतको आवश्यकता जुटाउन पूरक बजेटको आबश्यकता परेको उनले बताए ।