इटहरी । चारैतिर ठूला र बलिया पर्खाल अनि सुरक्षाकर्मीको कडा सुरक्षाव्यवस्था रहेको झुम्का कारागारबाट त्यहाँका कैदीबन्दी र गतिविधि हतपती बाहिरिँदैनन्। तर, कारागारभित्रको सांगीतिक कार्यक्रम अनि दर्शकको रूपमा रहेका कैदीबन्दीले गरेको हुटिङको आवाजलाई केहीले छेक्न सकेन।
कार्यक्रममा माण्डवी त्रिपाठीले ‘ढल्क्यो ढल्क्यो।।।’, ‘सिम्पल कान्छीको डिम्पल पर्ने गाला……’ गीतमा कैदीबन्दीलाई भरपूर नचाइन्। थकाइ मार्न नपाउँदै आइपुगिन् ज्योति मगर। आधा तिघ्रा देखिने छोटो कालो पोसाकमा मञ्चमा देखिएकी उनले दर्शकदीर्घामै गएर आफूसँगसँगै दर्शकलाई उफारिन्। उनका गीतभन्दा उनले दर्शकलाई देखाउँदै गरेका ‘ननभेज’ कुराकानीले बढी दर्शक तानेको थियो।
‘मलाई त जेन्टलम्यानभन्दा पनि ब्याड ब्वाइहरू मन पर्छ’, दर्शकदीर्घामा नाचिरहेका युवालाई देखाउँदै उनले भनिन्,‘१२ वर्षको जस्तो देखिन्छ तर पनि जीउडाल त मिलेकै छ।’ युवाहरूलाई आई लभ यु भन्दै उनले भीडमा रुमाल मागिन्। कोही नआएपछि भनिन्,‘आउने हिम्मत छैन कि क्या हो ? ’
‘नयनमा गाजल कालै राम्रो….’, ‘जिम्माल बाउकी छोरी….’ लगायतका गीत गाएपछि दर्शकले वन्समोर भन्दाभन्दै पनि उनी बिदा भइन्। जाँदाजाँदै उद्घोषिका चन्दा खड्कालाई देखाउँदै उनले थपिन्, ‘चन्दाको फिगर कोकाकोला, मेरो जम्बो कोला, त्यसैले धेरैलाई पुग्छ।’