Indrenionline.com

दैनिक ५० गाडी चीन प्रवेश गर्न थाले

नुवाकोट, १४ मंसिर । रसुवा–केरुङ सडकमा टोकन प्रनाली लागु गरेपछि दैनिक ५० गाडी चीन प्रवेश गर्न थालेका छन् । साँघुरो सडकलाई व्यवस्थित गराउँदै नेपाल–चीनको व्यापार वृद्धिमा सहजता ल्याउन भन्दै रसुवाबाट चीनको केरुङ प्रवेश गर्ने कन्टेनरलाई टोकन प्रणाली लागू गरिएको छ ।

जिल्ला प्रशासन कार्याल रसुवाले पासाङल्हामु मार्गअन्तर्गत बेत्रावतीदेखि टिमुरेसम्मको सडकमा टोकन प्रणालीमार्फत कन्टेनरलाई प्रवेश गराउँदै दैनिक ५० वटा गाडी केरुङ प्रवेशको व्यवस्था गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले राजमार्गको रसुवा प्रवेशद्वार बेत्रावती, स्याफ्रुबेसी र रसुवागढीमा पार्किङस्थल तोकिएका तीन स्थानबाट टोकन स्वीकृत गराई चीनसँगको मितेरी पुलबाट एक पटकमा ५० वटा ट्रक कन्टेनर चीनको केरुङतर्फ प्रवेश गर्ने व्यवस्था मिलाइको जानकारी दिए ।

गत असोज १९ गतेदेखि चिनियाँ पक्षले आफ्नो भूमितर्फ सडकको मर्मत सुरु गरेपछि बिहान पौने ११ बजेदेखि मध्याह्न सवा १२ बजेसम्म र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म मात्र नाका सुचारु गर्ने गरिएको छ ।