काठमाडौं, १२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलका नेतामा कमल थापालाई चयन गरेको छ । पार्टीको संसदीय दलको आइतबार बसेको बैठकले दलका उपनेतामा आपूर्तिमन्त्री समेत रहनुभएका दीपक बोहरालाई चयन गरेको छ । संसदीय दलका अन्य पदाधिकारी भने छिट्टै चयन हुने संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले जानकारी दिनुभयो ।
सरकारले आधिकारिक रुपमा प्रस्ताव दर्ता गराएपछि संविधान संशोधनका विषयमा आवश्यक निर्णय गरिने प्रमुख सचेतक गिरीले जानकारी दिनुभयो । बैठकले आगामी माघमा हुने पार्टी महाधिवेशन सफल पार्न र सङ्गठन निर्माणलाई गति दिन सबै नेता तथा कार्यकर्ता परिचालन हुने निर्णयसमेत गरेको छ ।