नवलपरासी १२ मंसिर । नवलपरासीको पहाडी गाविस बुलिङ्टार–८ बतासमा गएराति जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
बुलिङ्टार चौकीमा गाउँको झगडाको विषयमा भएको घटनामा छलफल गरी फर्किएकाहरु दुर्घटनामा परेका हुन् । मान्छेको भीडमा जिपले ठक्कर दिँदा धेरैजना घाइते भएको र मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ ।
पहाडी भू–भाग भएकाले दुर्घटनालगत्तै घाइतेको उद्धार गर्न कठिनाइ भएको छ । आज बिहान मात्र घाइतेलाई चितवनको भरतपुर मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा ल्याइएको छ । मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा राखिएको छ । एउटै गाउँका मान्छेहरु दुर्घटनामा परी ज्यान गुमाएपछि छरछरे गाउँ शोकमा डुबेको छ ।
मृत्यु हुने र घाइते हुने गरी गाउँका अधिकांश घरका मान्छे दुर्घटनामा परेका छन् । जिप चालकसमेत गम्भीर घाइते भएका छन् । दुर्घटनास्थल पूर्वपश्चिम राजमार्गबाट ५० किलोमिटर उत्तरमा पर्छ ।