Indrenionline.com

दाङमा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्यामा बृद्धि

रेणु डिसी
घोराही, १२ मंसिर । चालु आर्थिक बषको चार महिनामा दाङमा बिभिन्न सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्यामा झण्डै पचास प्रतिशतमा बृद्धि भएको पाइएको छ । आर्थिक बर्ष २०७२÷०७३ मा चार महिनामा ४२ सवारी दुर्घटनामा परी १३ जनाको ज्यान गएको थियो भने चालु आर्थिक बर्षमा ४८ सवारी दुर्घटनामा परी २० जनाको ज्यान गएको छ ।

चालु आर्थिक बर्ष २०७३/०७४ को श्रावणदेखि कार्तिक मसान्तसम्म भएका सवारी दुर्घटनामा २० जनाको ज्यान गएको कार्यालयले जनाएको छ । वितेको चार महिनामध्ये कार्तिक महिनामा सबैभन्दा धेरै ९ जनाको ज्यान गएको छ । कार्तिक महिनामा १० वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ ।

त्यस्तै असोज महिनामा ७ जनाको सवारी दुर्घटनामा परी ज्यान गएको थियो । असोजमा सबैभन्दा बढी सवारी दुर्घटना भएका थिए । कार्यालयका सुचना अधिकारी नन्दकुमार पौडेलका अनुसार असोजमा २० वटा सवारी दुर्घटना भएका थिए । यस्तै सबैभन्दा कम श्राबन र भदौँ महिनामा २÷२ जनाको ज्यान गएको थियो । श्राबण महिनामा ९ वटा सवारी दुर्घटना र भदौँमा पनि ९ वटा सवारी दुर्घटना भएका थिए ।

चालु आर्थिक बर्षको श्रावण महिनामा ३ बस, २ ट्रक, ३ मोटरसाईकल र १ ट्रेक्टर गरी जम्मा ९ वटा सवारी दुर्घटनामा परेका थिए । यस्तै भदौमा २ बस, १ जिप, ९ मोटरसाईकल र १ टे«क्टर गरि जम्मा ९ सवारी दुर्घटनामा परेका थिए । यस्तै असोज महिनामा सबैभन्दा धेरै सवारी दुर्घटना भएका थिए । ५ बस, ३ ट्रक, जिप तथा कार ३, मोटरसाईकल ८ र टे«क्टर १ गरि जम्मा २० वटा सवारी दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ । २१ जना गम्भिर घाईते भएको जनाइएको छ ।

यस्तै बितेको कार्तिक महिनामा ४ बस, १ जिप, २ मोटरसाईकल, २ टेक्टर र अन्य १ गरि १० वटा सवारी दुर्घटना भएका थिए । जसबाट ७ पुरुष, १ महिला र १ बालीका गरि ९ जनाको ज्यान गएको थियो । बिगत ४ महिनाको सवारी दुर्घटनामा सबैभन्दा बढी २२ वटा मोटरसाईकल दुर्घटनामा परेका थिए ।

यस्तै बितेको आर्थिक २०७२÷०७३ को ४ महिनालाई तुलना गर्ने हो भने चालु आर्थिक बर्षमा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या धरै रहेको छ । आर्थिक बर्ष २०७२÷०७३ को श्रावनदेखि कार्तिकसम्म बिभिन्न ४२ सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको थियो भने ३४ जना गम्भिर घाईते भएको कार्यालयले जानकारी दिएको छ ।

यो आर्थिक बर्षको साउनमा सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने गत बर्षको साउनमा पनि २ जनाको ज्यान गएको थियो । यस्तै भदौमा २ जनाको ज्यान गएको छ भने गत आर्थिक बर्षमा ३ जना, असोजमा ७ जनाको ज्यान गएके छ भने गत बर्ष ६ जना र यस आर्थिक बर्षको कार्तिकमा मृत्यु हुनेको संख्या ९ छ भने गत बर्ष २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्लामा गत बर्ष सवारी दुर्घटनामा परी सबैभन्दा धरै पुस र जेठमा १२÷१२ जना गरी २४ जनाको ज्यान गएको थियो । यस्तै गत बर्षको १२ महिनामा सवारी दुर्घटनामा परी ७१ जनाको ज्यान गएको थियो ।