Indrenionline.com

यस्तो छ भोलि दर्ता हुने भनिएको संविधान संशोधन विधेयक

काठमाडौं, ११ मंसिर । सरकारको प्रमुख प्रतिपक्षमा रहेको नेकपा एमाले संविधान संसोधनको विपक्षमा उभिदा उभिदै सरकारले संघीय प्रदेशको सीमांकन, नागरिकता, राष्ट्रिय सभाको प्रतिनिधित्व र राष्ट्रिय भाषाको विषयलाई समेटेर संविधन संशोधन मस्यौदा तयार गरेको छ ।

हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले मस्यौदालाई अन्तिम रूप दिएको हो ।संशोधनको मस्यौदालाई अन्तिम रूप दिइएको कांग्रेस नेता एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जनाए ।

शनिबारसम्म राप्रपासहित साना दल र सत्तारूढ कांग्रेस–माओवादी केन्द्र भित्रबाटै आएका असन्तुष्टि मेटाउने प्रयास गर्ने र आइतबार विधेयक दर्ता हुने लेखकले जनाए । शुक्रबारै विधेयक दर्ता गर्ने तयारी भए पनि सत्तारूढ पार्टी्भित्रकै असन्तुष्टि मेटाउन सरकारले थप दुई दिन प्रयास गर्न लागेको हो ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार प्रस्तावित मस्यौदामा केही पहाडी जिल्ला र भागलाई छुट्टयाएर नवलपरासीदेखि बर्दियासम्मको भागलाई ५ नम्बर प्रदेश बनाउने गरी संशोधन गर्न सत्तारूढ दलभित्र समझदारी बनेको छ । उनका अनुसार प्रदेश नम्बर ५ अन्तर्गतका पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुमको पूर्व भाग, रोल्पा र प्यूठानलाई प्रदेश नम्बर ४ मा राख्ने सत्तारूढ दलबीच समझदारी छ ।

राष्ट्रिय सभाको प्रतिनिधित्वमा सबै प्रदेशबाट ५ प्रतिनिधित्व सुनिश्चित गरी बाँकी ३ मा जनसंख्याका आधारमा प्रतिनिधित्वको व्यवस्था गरिने मस्यौदामा उल्लेख छ । संविधानमा प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्तिसहित ८ जना निर्वा्चित हुने व्यवस्था छ । भाषाको विषयमा भाषा आयोगले दिएको सिफारिसअनुसार सरकारले निर्णय गर्ने र त्यस्तो निर्णयलाई अनुसूचीमा राख्ने गरी संशोधन गरिने भएको छ । नगारिकताका सवालमा वैवाहिक अंगीकृत महिलालाई नागरिकता दिने तर नागरिकता पाउनु अघि पहिले नागरिक रहेको मुलुकको नागरिकता त्यागेको हुनु पर्ने संशोधनमा उल्लेख छ ।

प्रमुख प्रतिपक्षी एमालेले यी चारै विषयमा आपत्ति जनाउँदै प्रस्तावित संशोधन विधेयकलाई ‘राष्ट्रघात’को संज्ञा दिएको छ । ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला र भाग अलग्याउने प्रस्तावमा भने सत्तारूढ दलभित्रै समेत असन्तुष्टि छ । ५ नम्बर प्रदेशबाट प्रतिनिधित्वबाट गर्ने कांग्रेस, माओवादी केन्द्रका प्रतिनिधिले समेत यो प्रस्तावको विरोध गरेका छन् । असन्तुष्टि साम्य पार्न कांग्रेस र माओवादी दुवैले शनिबार आ–आफ्नो पार्टी्भित्र छलफल गर्ने भएका छन् ।

संशोधन मस्यौदामा सहमति जुटाउन मधेसी मोर्चाका नेताहरूसँग पनि छलफल गर्ने जनाइएको छ । शुक्रबारको बैठकमा श्रेष्ठले मधेसी मोर्चाको सहमतिबेगर संशोधन विधेयक लैजानुको कुनै अर्थ नहुने बताएका थिए । उनको यो अडानपछि प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले मोर्चासँग सहमतिका लागि शनिबार नै छलफल गर्ने बताएका थिए ।

‘अंगीकृत नागरिकता पाउने व्यक्तिलाई राष्ट्रपतिलगायत उच्च राजनीतिक र प्रशासनिक पदमा योग्य हुने गरी संशोधन प्रस्ताव ल्याउन खोजिएको भन्ने एमालेको प्रचार सत्य नरहेको’ मन्त्री लेखकले बताए । एमालेको अवरोधबीच पनि संशोधन प्रस्ताव दर्ता गर्नुहुन्छ भन्ने प्रश्नमा लेखकले भने, ‘संविधान संशोधन गरेर निर्वाचनमा जाने सरकारको एजेन्डा हो । दर्ता भएपछि क–कसका कस्ता प्रतिक्रिया आउँछन् त्यसपछि पनि छलफल गरेर अघि बढ्न सकिन्छ ।’

प्रमुख प्रतिपक्षी एमालेले संशोधन विधेयकलाई लिएर आन्दोलन गर्ने चेतावनी दिए पनि सरकार भने संघीय गठबन्धनमा आबद्ध मधेसी मोर्चालाई विश्वासमा लिएर संशोधन विधेयक दर्ता गर्ने तयारीमा जुटेको हो । ‘संशोधन गर्ने विषयमा सबैका आ–आफ्ना अडान र धारणा हुन्छन्, सबैलाई सबै कुरामा चित्त नबुझ्न सक्छ,’ लेखकले भने, ‘तर संशोधन विधेयक दर्ता गराउने विषयमा मोर्चाको सहमति छ ।’

मस्यौदामा मधेशका भूभागलाई ५ प्रदेशले छुने गरी प्रस्ताव गरिएको छ । मधेशी मोर्चाले भने तीन प्रदेश मात्र हुनु पर्ने माग गरेका छन् ।
मोर्चामा आबद्ध मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले प्रक्रियामा आफूहरूको सहमति रहेको बताए । ‘कांग्रेस, माओवादी केन्द्र र हाम्रो बीचमा सहमति निर्माण गरेर विधेयक लान सकिए हामीलाई स्वामित्व लिएर अघि बढ्न सहज हुन्छ । त्यसपछि संसद्मा विधेयक पास र फेलको जसरअपजस हामी नै लिन्छौं भन्दै आएका छौं,’ यादवले भने, ‘भएन भने पनि प्रक्रियामा हाम्रो सहमति छ ।’ उनले विषयमा सहमति हुन नसकिए संशोधन प्रस्तावमार्फत सच्याउन कांग्रेस–माओवादी तयार हुनुपर्ने बताए ।