बैतडी, १० मंसिर । नरभक्षी चितुवाले मानवबस्ती पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि बैतडीको तल्लोस्वराडमा चितुवा मार्नका लागि खटाइएको प्रहरी टोली चितुवा मार्न नसकी फिर्ता भएको छ ।
प्रभावित क्षेत्रमा खटाइएको टोलीले उदयदेव गाविसका विभिन्न क्षेत्रमा खोजी गरेपनि चितुवा नभेटिएपछि टोली फिर्ता भएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले राससलाई जानकारी दिए । छ महिनाका लागि प्रहरी टोली प्रभावित क्षेत्रमा खटाइएको भए पनि उदयदेव गाविस कार्यालयले हिउँदमा चितुवा मानव बस्ती नपस्ने तथा नदेखिने भनेकाले टोली फिर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सुरेन्द्र बमले बताए ।
‘विभागीय नीतिअनुसार टोली फिर्ता भएको हो’, उनले भने, ‘तल्कालका लागि टोली प्रभावित क्षेत्र नजाने गरी फिर्ता भयो ।’ यसअघि गत महिना चितुवा देखा परेर एक राउन्ड गोली फायरिङ गरेको भएपनि चितुवालाई नलागी भागेको समेत उनले जानकारी दिए ।
दङ्गा नियन्त्रण कार्यालय कञ्चनपुरबाट आएको ३५ जनाको टोली पनि बिहीबार कञ्चनपुर फर्केको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको तल्लोस्वराडमा २०६८ सालदेखि हालसम्म २२ जनाको चितुवाको आक्रमणवाट ज्यान गएको छ ।
यसअघि पनि चितुवाले मानव बस्ती पसेर लगातार मानिसमाथि आक्रमण गर्न थालेपछि चितुवा मार्न २०६९ सालमा पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनरक्षकको टोली तल्ल्लोस्वराडमा पठाएको भएपनि चितुवा नभेटिएपछि त्यतिकै फर्किएको थियो ।
उदयदेव, बिशालपुर, महाकाली, पञ्चेश्वर, आमचौरा, गिरेगाडा, समौली, कुलाउ, मेलौली, रोडिदेवल लगायतका तल्लोस्वराडका गाविसका स्थानीय बासिन्दा चितुवाको आक्रमणले त्रसित बनेका छन् । रासस