कञ्चनपुर, १० मंसिर । बहुप्रतिक्षित कञ्चनपुरको बाइसेविचवा गाविसको डोकेबजारदेखि दैजीसम्मको ६२ किलोमिटर हुलाकी राजमार्ग कालोपत्र गर्नका लागि कार्य अगाडि बढाइएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको हुलाकी राजमार्ग परियोजनाले सडक कालोपत्रका लागि कार्य अगाडि बढाइएको हो ।
भारत सरकारले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हुलाकी राजमार्ग बनाउने सम्झौताअनुरुप कैलालीसम्म हुलाकी राजमार्ग पाँच वर्षअघि देखि नै बनाउन सुरु गरेपनि राजमार्गको कञ्चनपुरको भागलाई छुन सकेको थिएन । भारत सरकारले डोकेबजारको मोहना नदीको पुलदेखि त्रिभुवनबस्ती, श्रीपुर, रामपुर, विलाशीपुर, बेलाडाँडी हुँदै दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक निर्माणसँगै कालोपत्र गर्ने सम्झौता गरेको थियो ।