इन्द्रेणी संवाददाता
जाजरकोट, ९ मंसिर । जिल्ला शिक्षा कार्यालय जाजरकोटले पहिलोपटक १३ ओटा नमूना विद्यालय भौतिक पूर्वाधार निर्माण गरेको छ । कार्यालयले विद्यालय भौतिक निर्माण कार्यक्रमतर्फ ४३ ओटा विद्यालयमध्ये १३ ओटा नमूना विद्यालय भवन निर्माण गरेको हो । आर्थिक २०७२/७३ मा स्वीकृत ४३ ओटा विद्यालय भवन निर्माणमध्ये हाल १३ ओटा सम्पन्न गरिसकिएको कार्यालयले बताएको छ ।
चालू आर्थिक वर्षमा शिक्षा कार्यालयले विद्यालय भौतिक सुविधा विस्तार कार्यक्रमअन्र्तगत २ सय ६२ ओटा संरचना निर्माणका लागि १३ करोड खर्चिने भएको छ । कार्यालयले आठकोठे भवनका लागि चारओटा विद्यालयलाई ६० लाख, ६ कोठे भवनका लागि ४८ लाख र चारकोठे भवनका लागि सातओटा विद्यालयलाई ३२ लाख रुपैयाँ वितरण गर्न लागेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिए । तीनकोठे भवन निर्माणका लागि १८ ओटा विद्यालयलाई १८ लाख र दुईकोठे भवनका १० ओटा विद्यालयलाई १३ लाख रुपैयाँ वितरण गरिएको उनले बताए ।